निर्यात प्रवर्द्धनलाई जोड दिन ‘दशौँ निर्यात दिवस’ मनाइने

काठमाडौँ । नेपाल निर्यात परिषद्ले १० औँ निर्यात दिवस मनाउने भएको छ । निर्यात परिषद्को २८ औँ वार्षिक साधारण पारेर दिवस मनाउने तयारी गरिएको छ ।

नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण तथा १० औँ निर्यात दिवसका बारेमा जानकारी दिन शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले निर्यात दिवसमा निर्यात क्षेत्रसँग सरोकार राख्ने सरकारी, निजी, विदेशी तथा अन्य निकायहरूको उपस्थिति रहने जानकारी दिए ।

उनकाअनुसार यसले निर्यात क्षेत्रसँग सम्बन्धित सरोकारका विषयहरूको बारेमा उजागर गर्न र नीति निर्माण तहमा रहेका राज्यका निकायलाई झकझक्याउन पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

नेपाल निर्यात परिषद् तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको लागत साझेदारीमा आयोजना गरिने निर्यात दिवस २०८२ को प्रमुख उद्देश्यहरू नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्वबारे नीति निर्माता, निजी क्षेत्र र आम नागरिकमा चेतना अभिवृद्धि गर्ने, सरकार र सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गर्ने, निर्यात प्रवर्द्धनमार्फत उत्पादनमुखी, रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने, हस्तकला, कृषि, घरेलु तथा साना–मझौला उद्योगका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै नेपाली उत्पादनको पहिचानमा सुदृढ गर्ने, निर्यात व्यापारमा देखिएका नीतिगत, संरचनागत तथा व्यवहारिक समस्या, चुनौती र अवसरबारे सरोकारवालाबीच खुला संवाद र छलफलको वातावरण सिर्जना गर्नु रहेको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले देशको आर्थिक विकास र अर्थतन्त्रको वृद्धिका लागि निर्यात व्यापारले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको समेत बताएका छन् ।

उनकाअनुसार निर्यात व्यापारबाट देशमा उत्पादन, रोजगारी, आम्दानी तथा पुँजी प्रवाहमा सिधा तथा सकारात्मक प्रभाव पर्ने हुँदा यसलाई अर्थतन्त्रको चालकका रूपमा मान्नुपर्छ । उत्पादन, रोजगारीका पक्षमा ध्यान दिन नसक्दा नदिँदाको परिणाम स्वरूप नेपालले हरेक दशकमा राजनीतिक आन्दोलन तथा उथलपुथलको सामना गर्नुपरेको उनले बताए ।

अध्यक्ष श्रेष्ठले भने ‘निर्यात व्यापारबाट देशमा उत्पादन, रोजगारी, आम्दानी तथा पुँजी प्रवाहमा सिधा तथा सकारात्मक प्रभाव पर्ने हुँदा यसलाई अर्थतन्त्रको चालकका रूपमा मान्नुपर्छ । नेपालले उत्पादन, रोजगारीका पक्षमा ध्यान दिन नसक्दा नदिँदाको परिणाम स्वरूप हरेक दशकमा राजनीतिक आन्दोलन तथा उथलपुथल भई अहिलेसम्म राजनीतिक अस्थिरताले निकास पाउन सकेको छैन । पछिल्लो समय जेनंजी आन्दोलनको जग पनि नेपालमा रहेको आर्थिक कमजोरीसँग जोडिएको छ । यस राजनीतिक उथलपुथलले देशमा आर्थिक विकास, रोजगारी सिर्जना र सुशासन कायम राख्न नसक्दा देशको अस्तित्व नै धरापमा पर्नसक्ने अवस्थासम्म आउने रहेछ भन्ने पाठ पढाएको छ । झन्डै आठ दशकदेखि नेपाल राजनीतिक एजेन्डामे केन्द्रित हुँदै आएको भएपनि अब आर्थिक एजेन्डा केन्द्रित हुनु जरुरी छ ।’

सो अवसरमा श्रेष्ठले नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा सोयाविन तेल, फलाम तथा फलामका उत्पादनहरू, यार्न, सूर्यमुखी तेल, ऊनी गलैँचा, तयारी पोसाक, जुट तथा जुटका सामानहरू, जुस, अलैँची, प्लाईउड, ऊनी फेल्टका उत्पादन, चिया, कुकुर बिरालाका आहारा, पिना, पस्मिना शल, कपडा, कत्या, पामतेल, चाउचाउ, सिमेन्ट प्रमुख रूपमा रहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =