सुनसरी गोली काण्ड: पीडित र प्रशासनबीच ५ बुँदे सहमति

काठमाडौँ । सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिकामा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागि एक स्थानीयको मृत्यु भएपछि उत्पन्न तनावग्रस्त स्थितिलाई अन्त्य गर्न पाँच बुँदे सहमति भएको छ ।
बुधवार मध्यराति तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर कोशी गाउँपालिका- १, पुरी टोलका ४५ वर्षीय विजय साहको ज्यान गएको थियो ।
घटना बुधवार राति करिब १:१० बजेको हो । भारतबाट सिटी सफारीमा ८-१० बोरा चिनी लिएर आउँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको थियो । गोली लागेर ढलेका साहको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले घटनास्थलमा प्रदर्शन गरेका थिए । उनीहरूले घटना शंकास्पद रहेको र प्रहरीले नियोजित रूपमा गोली चलाएको भन्दै शव उठाउन दिएका थिएनन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पीडित पक्षबीच भएको वार्तामा घटनाको छानबिन गर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा रोजगारीको व्यवस्था गर्ने सहमति जुटेको हो ।
यी हुन् सहमतिहरू
१. छानबिन समिति गठन : घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
२. क्षतिपूर्तिको सिफारिस : छानबिन समितिको प्रतिवेदनमा सुरक्षा अधिकारीको लापरबाही देखिएमा नियमानुसारको राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति भएको छ ।
३. रोजगारीको व्यवस्था : मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले आवश्यक पहलकदमी र सहजीकरण गर्ने सहमति भएको छ ।
४. छोरालाई सशस्त्र भर्नामा सहयोग स् मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा सशस्त्र प्रहरी बल नं. बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग र सहजीकरण गर्ने सहमति भएको छ ।
५. शव व्यवस्थापन : सहमति भएसँगै मृतकको शवलाई पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र त्यसपछि परिवारले दाहसंस्कार गर्ने सहमति भएको छ । सहमति पत्रमा स्थानीय प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पीडित पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।











