नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी आजदेखि पर्यटन बोर्डमा हुने

काठमाडौं । नेपाल पर्यटन बोर्डमा आजदेखि ३ दिने ड्रोनबाट खिचिएका तस्बिरहरूको विशेष फोटो प्रदर्शनी आयोजना हुँदैछ । फोटो पत्रकार नवीन बाबु गुरुङको एकल ड्रोन फोटो प्रदर्शनीमा नेपालका विभिन्न भू-भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँ-बस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्वहरू झल्किने तस्बिरहरू राखिनेछन् ।

नेपालका विभिन्न जिल्लामा रहेका पर्यटकीय गन्तव्य तथा प्रचार प्रसारको पर्खाइमा रहेका स्थानहरूको आकाशबाट देखिने दृश्य प्रस्तुत गर्न प्रदर्शनीको आयोजना गरिएको फोटो पत्रकार गुरुङले बताए । ‘प्रदर्शनीमा केही पर्यटनमा लोकप्रिय रहेका त केही जुर्मुराउँदै गरेका साथै भविष्यमा पर्यटनको प्रखर सम्भावना बोकेका गाउँ-ठाउँका फोटोहरू ड्रोनमार्फत कैद गरिएको छ । चराहरूले देख्ने दृष्टिकोणबाट यी पर्यटकीय क्षेत्रहरू कस्तो देखिन्छन् भन्ने अवधारणामा आधारित रहेर तस्बिरहरू प्रस्तुत गरिएको हो ।’

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पिजे क्लब नेपाल र तमु सञ्चारकर्मी संघ नेपालले यो प्रदर्शनीको आयोजना गर्न लागेका हुन् । नेपालमा ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको यस्तो प्रदर्शनी पनि पहिलो पटक आयोजना हुन लागेको आयोजकको दाबी छ । यसले नेपाली पर्यटनका नयाँ आयाम उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =