मण्डलामा ‘बहादुरपुरको दन्त्यकथा’ (तस्बिरहरू)

काठमाडौं । प्रसिद्ध भारतीय नाटककार बादल सरकारद्वारा लिखित बंगाली भाषाको नाटक ‘बल्लभपुरेर रूपकथा’मा आधारित नाटक ‘बहादुरपुरको दन्त्यकथा’को पुस ४ गतेदेखि मण्डला थिएटरमा नियमित मञ्चन सुरु भएको छ ।

४२१ वर्ष पुरानो भग्नावशेष बन्दै गएको एउटा महलको पृष्ठपरिवेशमार्फत कथा भन्ने यस नाटकमा पात्रहरूका उदेकलाग्दा सङ्घर्ष र बिजोगलाग्दा परिस्थितिबीच परम्परा र आधुनिकता एवं अधिकार र विद्रोहबीचको टकरावलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

यो नाटकले हास्य, व्यङ्ग्य र रहस्यपूर्ण घटनाहरूलाई मिसाएर दर्शकलाई मनोरञ्जन र विचार दुवै दिन्छ । समग्रमा भन्नुपर्दा नाटक “बहादुरपुरको दन्त्यकथा” हाँस्दाहाँस्दै सोच्न बाध्य पार्ने एउटा रङ्गीन र जीवन्त नाटक हो ।

ऋणमा डुबेका एकजना राजपरिवारका सन्तानले आफ्नो भग्नावशेष बन्दै गएको दरबार बेच्न गरेका सङ्घर्षलाई हास्यरसमार्फत नाटकमा कुशल ढंगले प्रस्तुत गरिएको छ । यो कथालाई आधार बनाएर भारतमा धेरैवटा नाटक तथा सिनेमाहरू निर्माण भइसकेका छन् ।

रङ्गकर्मी सरस्वती चौधरीको परिकल्पना तथा निर्देशनमा तयार पारिएको नाटकमा रङ्गमञ्चका वरिष्ठ कलाकारहरू कमलमणि नेपाल, प्रवीण खतिवडा, सरिता गिरी, सरस्वती चौधरी, घनश्याम जोशी, राम भजन कामत, दिपल बराल, चन्द्र नेपाली र आदित्य नारायण मिश्रले अभिनय गरेका छन् । नाटकलाई विजय विस्फोटले नेपालीमा भावानुवाद गरेका हुन् ।

मण्डला थिएटरको प्रस्तुतिमा सुरज यादवले निर्माण गरेको नाटक ‘बहादुरपुरको दन्त्यकथा’ आगामी पुस २७ गतेसम्म सोमबारबाहेक प्रत्येक दिन साँझ ५ बजे तथा शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =