पिच गर्ने नाममा सडक भत्काएर अलपत्र (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको पेप्सीकोला सूर्यमुखी चोक क्षेत्रमा भित्री सडक पिच गर्ने नाममा पिच गरिएको सडक भत्काएर अलपत्र पारिएको छ ।
सूर्यमुखी चोकका स्थानीयले आफ्नो क्षेत्रको सडक निर्माणका लागि पैसा उठाएर उक्त सडक पिच गरेका थिए । तर, सडक विभागले सरकारी मापदण्डअनुसार पुनः पिच गर्ने भन्दै सडक भत्काएको हो । भत्काइएकै सडक पुनः निर्माण हुन कम्तीमा ५ महिना लाग्ने ठेकेदारको भनाइले स्थानीय आक्रोशित बनेका छन् ।
ठेकेदारले पिचका सबै प्रक्रिया मिलाउन चार महिना लाग्ने बताए पनि अहिले नै सडक भत्काइदिँदा जनजीवन कष्टकर बनेको स्थानीयको भनाई छ ।
भत्किएको सडकका कारण पानीको ढल खुलेर बग्न थालेपछि क्षेत्र दुर्गन्धित भएको छ । सो सडकमा दुर्घटनाको जोखिम समेत बढेको स्थानीय बताउँछन् । यति मात्रै होइन, स्थानीयको मूल ढोकामै माटो थुपारिएको छ । जसले घरबाहिर आउजाउ गर्न समेत समस्या भएको उनीहरूको गुनासो छ ।
विकासको नाममा विनाश निम्त्याइएको आरोप लगाउँदै स्थानीयले तत्काल सडक निर्माण कार्य अघि बढाउन माग गरिरहेका छन् ।









