अनुमान नगरेका ठाउँमा बजेट खर्च गर्नुपरेको छ : अर्थसचिव उपाध्याय

काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको क्रममा अनुमान नगरेका ठाउँमा बजेट खर्च गरिरहनुपरेको बताएका छन् ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै उनले २३ र २४ गतेको जेनजी आन्दोलनपछिको परिस्थितिबाट नेपाल सरकारले विद्यमान अवस्थालाई सहजीकरण गर्न विभिन्न कदमहरू चालेको र ती कामहरू बजेट खर्चिनुपरेको बताए ।

जुन चालु वर्षमा अनुमान गरिएका थिएनन् । उनकाअनुसार जेनजी आन्दोलन अघि नै बजेट आएकाले जेनजी आन्दोलनबाट सिर्जित परिस्थितिमा धेरै बजेट खर्चिनुपरेको बताए ।

सचिव उपाध्यायले भने ‘२२ र २३ गतेको आन्दोलनपछि अनुमान नगरेका नयाँ क्षेत्रमा बजेट खर्च गर्नुपरिरहेको छ । २३ र २४ गतेको स्थितिलाई सम्झेर समितिहरूले छलफलहरू अघि बढाउनुपर्छ जस्तो मलाइ लाग्छ । हामी सचिव, माननीयज्यू कहाँ थियौँ र तत्पश्चात् अहिलेको परिस्थितिमा सार्वजनिक सेवा सुचारु गर्नका लागि सरकार कसरी खटिरहेको छ, त्यो हेर्नुपर्छ । विभागहरू नष्ट भएका बेलामा पनि अहिले टेन्डरहरू अघि बढिरहेका छन् । अर्थमन्त्रालय मात्रै नभएर अरू निकायहरूले पनि काम गरिरहेको अवस्था हो ।’

सचिव उपाध्यायले अधिकांश सरकारी संरचना, गाडी, फर्निचर, कम्प्युटर, कागजातमा जेनजी आन्दोलनका क्रममा नष्ट भएको बताए । सार्वजनिक सेवा सुचारु गराउन सरकार सफल भएको उपाध्यायले बताए । उनकाअनुसार नतिजामुखी विकास सम्पादनमा कर्मचारीहरू निरन्तर खटिरहेको अवस्था छ । विनियोजित बजेटका सन्दर्भमा प्रभावकारी कार्यान्वयनको विषय विषगत मन्त्रालयको भएकाले उनीहरू बढी जिम्मेवार रहेको सचिव उपाध्यायले बताए ।

उनकाअनुसार मन्त्रालयहरूलाई कसरी सहजीकरण गर्ने भन्नेबारे अर्थमन्त्रालयले निरन्तर काम गरिरहेको छ । त्यसका लागि दैनिक समन्वय, छलफलहरू भइरहेका छन् । रकमान्तर, कार्यक्रम संशोधन, थप निकासका लागि आएका प्रस्तावहरूलाई अर्थ मन्त्रालयले प्राथमिकताका साथ अघि बढाएको उनले बताए ।

सचिव उपाध्यायले सचितकोष २३६ अर्बले नकारात्मक रहेको बताए । आगामी निर्वाचनका लागि बजेटका विषयमा ४९६ करोडको सहमति अर्थमन्त्रालयले दिएको जानकारी दिँदै उनले सुरक्षा निकायहरूका लागि बजेटरीका विषयमा समेत छलफल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =