दश देशका कलाकारका चित्रकला प्रदर्शन

काठमाडौं । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँको नेपाल पर्यटन बोर्डमा १० देशका कलाकारले बनाएका चित्रहरू प्रदर्शन गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र सुष्मा आर्ट ग्यालरीको संयुक्त आयोजनामा प्रस्तुत भएका कलाहरू संस्कृति तथा सम्पदामा केन्द्रित छन् ।

कलामार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले तीन दिन उक्त प्रदर्शनी गरिएको कलाकार सुष्माराज भण्डारीले बताए । उक्त प्रदर्शनीमा १० देशका कलाकारका ६० वटा कलाहरू प्रदर्शनीमा राखिएका छन् ।

‘हेरिटेज’ शीर्षकमा गरिएको प्रदर्शनीमा आफ्नो कला प्रस्तुत गर्नुभएका कलाकार उत्तम डङ्गोलले पशुपतिलाई केन्द्रविन्दुमा राखेर लोककलाका आधारमा क्यान्भास भरेका छन् । पशुपति, बौद्ध र स्वयम्भूलाई एउटै क्यान्भासमा समेटेर उनले चित्र सिर्जना गरेका छन् ।

उनले भने, ‘पशुपतिमा देखिने विषयहरू हनुमान, भैरव, नाग देवता, गणेशलाई ‘फोकस’ गरेको छु, हिजोको लोक कलालाई क्यान्भासमा रूपान्तरण गरेर आधुनिक शैलीमा प्रस्तुत गरेँ, ‘एक्रेलिक’ माध्यममा ‘वाटरप्रुफ’ कलामा सम्पदालाई देखाएको हुँ ।’

तेल रङ्गमा कला प्रस्तुत गरेकी कलाकार ज्योति खड्काले पुरानो काठमाडौँलाई झल्काएकी छन् । महाबौद्धको स्तूपालाई मुख्य विषय बनाएर त्यहाँको पुराना संस्कृति गाउँ र परम्परालाई उनले देखाएकी छन् ।

उनले भनिन्, ‘परम्परागत कलामा प्रायः मानिसहरूले घर, मन्दिर, काठका कलात्मक प्रस्तुतिमा कलाकारको ध्यान जाने गर्छ, तर मैले त्यसलाई छाडेर पुरानो जुन हराएको संस्कृतिलाई उठान गरेकी छु ।’

उक्त कलाको संयोजन गरेकी कलाकार सुष्माराज भण्डारीले गणेशको सिरिज प्रस्तुत गरेकी छन् । उनले पनि उक्त प्रदर्शनीमा गणेशको चित्रलाई क्यान्भासमा उतारेकि छन् । उनको चित्र एक लाखमा बिक्रीसमेत भइरहेको छ । अन्य पाँच/छवटा चित्रहरू बिक्री भएको पनि उनले बताइन् ।

नेपालसहित भारत, बङ्गलादेश, घाना, बेलायत, अमेरिका, जापान, रसिया, इन्डोनेसियालगायत देशका ६० वटा कला सिर्जना यहाँ प्रस्तुत गरिएका छन् । १५ वटा विदेशी कलाकारका चित्रकला यहाँ राखिएका छन् ।

नेपालका वरिष्ठ कलाकार राधेश्याम मुल्मी, गोविन्द डङ्गोल, विजय थापालगायतका कलासमेत यहाँ समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =