जसपा नेपालद्वारा एकमहिने संघर्षका कार्यक्रम घोषणा, आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको सङ्घर्षका कार्यक्रमहरू आजदेखि सुरु हुने भएको छ ।
बुधवार (आज) देखि पार्टीको एक महिना भन्दा बढीको सङ्घर्षका कार्यक्रमहरू सुरु हुने भएको हो ।
पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले यसअघि पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दामा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी दिएका छन् ।
उनका अनुसार, मङ्सिर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम हुने छ । मङ्सिर १९ र २१ गते जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना हुनेछ ।
त्यसैगरी मङ्सिर २७ गतेदेखि पुस ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा र जनसभा हुने छ भने पुस १२ गते विराटनगरमा जनसभा हुनेछ ।
जसपा नेपाले पुस १४ गते जनकपुरमा, पुस १५ गते वीरगंजमा र पुस १७ गते भैरहवामा जनसभा गर्ने जनाएको छ ।








