बन्दीपुर केबुलकारमा कुमारी बैंकका ग्राहकलाई १३ प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । यस सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकले बन्दीपुर केबुलकारद्वारा सञ्चालित विभिन्न पर्यटकीय सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबुलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले हस्ताक्षर गरेका छन् । आइतबार भएको सम्झौतानुसार बैंकका ग्राहकले केबुलकारको टिकट, स्काई साइक्लिङ, जिपलाइन टिकट तथा ड्राइभ इन रेष्टुरेन्टको सेवामा १३ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
विगत २४ वर्षदेखि निरन्तर सेवा प्रवाह गर्दै आएको कुमारी बैंकले देशभर रहेका आफ्ना ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक सेवा प्रदान गरिरहेको छ । आगामी दिनमा आफ्ना सेवालाई थप सरल, सुलभ र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।








