नाडाले भन्यो– युरो ६ मापदण्ड लागू भइसक्यो, समयमै सवारी साधनको भन्सार जाँचपास गर्नु

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) कार्यान्वयनसँग सम्बन्धित जानकारी सार्वजनिक गरेको छ ।
बन तथा वातावरण मन्त्रालयले २०८२ असार ९ गते नेपाल राजपत्रमार्फत युरो–६ मापदण्ड आधिकारिक रूपमा लागू गरिसकेको थियो ।
यस्तै, मापदण्ड लागू भइसकेपछि उद्योग तथा व्यवसायमा पर्ने प्रभावलाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले २०८२ असोज १० गते राजपत्र जारी गर्दै एक अन्तरिम व्यवस्था गरेको नाडाले जानकारी दिएको छ ।
उक्त निर्णय अनुसार युरो–६ लागू हुनु अघि प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन, नेपाल भित्रै एसेम्बल वा उत्पादन हुने सवारी साधन, तथा उत्पादनका लागि आवश्यक पार्टपूर्जा प्रयोग भइसकेका सवारी साधनलाई आगामी मंसिर १५ गतेसम्म पुरानै मापदण्डअनुसार पैठारी गर्न सकिने व्यवस्था गरिएको छ ।
नाडाका अनुसार तोकिएको समयसीमा भित्र बाँकी रहेका सबै सवारी साधनहरूको भन्सार जाँचपास पूरा गर्न आयातकर्ता तथा व्यवसायीहरूलाई अनुरोध गरिएको छ ।
साथै, यस्तो व्यवस्था लागू गराउन नाडाले बन तथा वातावरण मन्त्रालय तथा अर्थ मन्त्रालयसँग निरन्तर पत्राचार र पहल गरेको तथ्यसमेत संघले सार्वजनिक गरेको छ ।








