महाधिवेशनलाई भाँड्ने प्रयास हुँदै छ, सफल हुँदैन: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशन भाँड्ने प्रयास भइरहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने चेतावनी समेत दिए ।
एमालेका महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौँमा हुँदै छ । अध्यक्ष ओलीले सो महाधिवेशन भव्यताका साथ सम्पन्न हुने दाबी समेत गरे । उनले सो महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा सम्पन्न गर्नुपर्ने बताए । उनले फराकिलोपन र फराकिलोपनका साथ सो महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा सम्पन्न गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।
उनले भने ‘एमालेको महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ । र म देख्दैछु, सुन्दै छु । त्यसलाई भाँड्नका लागि विभिन्न प्रयासहरू भइरहेका छन् । म सबैलाई चेतावनी भनौँ कि चेतावनी भन्ने शब्द अलि चर्को हुन्छ भने सबैलाई म भन्न चाहन्छु–त्यस प्रकारको सोच नै नबनाउनुस् । नेकपा एमालेको महाधिवेशन भाँड्ने सोच नबनाउनुस् । एमाले आफ्नो महाधिवेशन गर्छ । आफ्ना ठाउँमा बसेर गर्छ । यस देशका लागि, यस देशको रक्षा, यसको सार्वभौमसत्ता, त्यसको स्वाधीनता, यसको स्वतन्त्रता, यसको भौगोलिक अखण्डता, यसका जायज हितहरू, राष्ट्रिय हितहरू र यसको स्वाभिमानहरूलाई माथि उठाएर गर्छ । किन टाउको दुखाउने ? त्यसमा टाउको दुख्छ भने हाम्रो भन्नु केही छैन । तर महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ । अरू थप कुरा मैले अहिले केही भनिरहनु पर्दैन । नेपाली जनताले नेकपा एमालेको महाधिवेशनलाई आउँदो मङ्सिर २७, २८ र २९ गते हुने महाधिवेशनलाई एउटा ऐतिहासिक महाधिवेशनको रूपमा स्थापित गर्नेछन् । र, नेकपा एमाले यस कुरा सजग छ । अव म चाहन्छु–यस महाधिवेशनलाई हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाऔँ । फराकिलो मन, फराकिलोपनका साथ यस महाधिवेशनलाई लैजाऔँ । मेरो आग्रह छ । विभिन्न सामाजिक सञ्जालहरूमा केही भ्रमहरू फिँजाइएको देख्छु । त्यस भ्रमहरूमा नलाग्नका लागि म साथीहरूलाई आग्रह गर्न चाहन्छु । कोही पनि नलागुन् यस्ता कुरा ।’
अध्यक्ष ओलीले एमालेले महाधिवेशनमार्फत मुलुकको राष्ट्रियता र स्वाभिमानलाई अझै उचाइमा पुर्याउने दाबी समेत गरे ।








