जैविक तटबन्धले जमिन कटान रोकियो: बजेट छुटाउँदै स्थानीय सरकार

काठमाडौँ । नदी छेउमा बनाइएको जैविक तटबन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।
पानी पर्ने बित्तिकै कर्णाली र शाखा नदीहरूका तटीय क्षेत्रमा रहेका समुदाय बाढीबाट प्रभावित हुने गर्छन् । त्यस्तै बाढीको अत्यधिक जोखिममा पर्ने स्थानमध्ये एक हो बर्दियाको मधुवन नगरपालिका वडा नं. २ को बंगालीपुर गाउँ ।

बंलालीपुरस्थित समुदायस्तरिय विपद् व्यवस्थापन समितिको सक्रियतामा औराही नदीको तटीय क्षेत्रमा २ सय २० मिटर लामो जैविक तटबन्ध निर्माण गरिएको छ । बंगालीपुर हुँदै बग्ने औराही खोलामा आउने बाढीले गाउँ नै डुबानमा पर्थ्यो । खेतको अन्न तथा तरकारीबालीको साथै सञ्चित खाद्यान्नमा पनि नोक्सान पुग्थ्यो । बस्तीमा पानी पसेपछि स्थानीयहरू घर छोड्न बाध्य हुन्थे । पशु चौपाय र बालबच्चा लिएर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता अहिले छैन ।

खोज तथा उद्धार समिति बंगालीपुरका संयोजक गीता थारुकाअनुसार त्यस्ता तटबन्धले कटान रोक्ने मात्रै नभई धेरै कृषि उत्पादनहरू सुरक्षित भएको र केही स्थानमा बाढी आउन समेत रोकिएको बताइन् । बंगालीपुरका चौकीदार लक्ष्मिराम थारु जैविक तटबन्ध बनेपछि बाढीको त्रास हटेकोमा खुसी छन् । स्थानीय सम्झना थारुको खुसी पनि चुलिएको छ । किन कि अब बाढी आयो भनेर बालबच्चा च्यापेर भाग्नुपर्ने अवस्था छैन ।

विक्रम संवत् २०७२ मा बाढी उत्थानशील कार्यक्रममार्फत प्राक्टिकल एक्सनको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको श्रमदानबाट जैविक तटबन्ध निर्माण भएपछि २ सय १५ घरधुरी डुबानबाट जोगिएका छन् । मधुबन नगरपालिका वडा नं. २ का अध्यक्ष आशाराम थारु अन्य जोखिम पूर्ण स्थानमा पनि जैविक तटबन्ध बनाउन पहल गर्नुपर्नेमा जोड दिए ।

विक्रम संवत् २०६५ मा दोदा नदीमा आएको बाढीबाट शुक्लाफाँटा नगरपालिका १२ तिल्कीका १२ परिवार र लालझाडीको सिङ्गो गाउँ नै विस्थापित भयो । प्राक्टिकल एक्शन र पेसवानको सहकार्यमा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत तिल्की आसपास दोदा नदीमा चार सय मिटर जैविक तटबन्ध निर्माणपछि बाढी मात्रै रोकिएको छैन, वर्षौँदेखि बाँझो जमिन हराभरा भएका छन् । स्थानीय ८५ घर परिवारमा खुसी ल्याएको छ ।

समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमका प्राविधिक सुपरिवेक्षक जनक लेखकले वातावरणमैत्री र स्थानीय स्रोतसाधन प्रयोगबाट निर्माण गरिने जैविक तटबन्ध कम खर्चिलो र धेरै प्रभावकारी रहेको बताए ।

पहिलो चरणमा परियोजनाबाट १० लाख ६८ हजार ४ सय र दोस्रो चरणमा १० लाख ५० हजार ३ सय गरी लगभग २१ लाख रुपैयाँ रकम खर्च गरिएको छ । ४ सय मिटर लामो जैविक तटबन्ध निर्माणमा स्थानीयवासीले १ लाख १० हजार बराबरको जनश्रमदान गरेका छन् । जैविक तटबन्धले ३० हेक्टर क्षेत्रफल जमिन कटान हुन बाट जोगिएको छ । तटबन्ध पछि तटीय क्षेत्रका स्थानीयले बगर छेउमा उखु, सखरखण्ड, बदाम लगायत कृषि तथा तरकारी लगाएर आयआर्जन गर्न थालेका छन् ।

बर्दियाको गुलरिया नगरपालिकास्थित बालापुरमा सबैभन्दा पहिले जैविक तटबन्ध निर्माण गरिएको थियो । यो तटबन्ध सफल अनि प्रभावकारी देखिएपछि जलवायु उत्थानशीलमा काम गर्दै आएका संघ संस्था र स्थानीय सरकारले चासो देखाइ बजेट छुट्याउन थालेका छन् । अहिले राजापुर नगरपालिकाको राजापुरुवा मुक्तकमैया टोल, जानकी गाउँपालिकाको सातबिघा, बक्लहवा, फरेला, गेरुवा गाउँपालिकाको दक्षिणपुरमा पनि जैविक तटबन्ध बनाइएको छ ।

अहिले यी स्थानमा मनसुन तथा अन्य समयमा पानी पर्ने बित्तिकै नदी तटीय गाउँबस्ती डुबानमा पर्ने तथा स्थानीयको घर, कृषिबाली तथा भण्डारण गरिएको खाद्यान्नमा हुने क्षति रोकिएको छ । तटीय क्षेत्रका बासिन्दाले नदी किनार तथा बगरमा तरकारी तथा अन्नबाली लगाएर आयआर्जन पनि गर्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =