एनपिएल-२

पौडेलको लुम्बिनी र मल्लको चितवन आमने सामने, कसले मार्ला बाजी ?

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) लुम्बिनी लायन्स र चितवन राइनोज आमने सामने हुँदैछन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने यस खेलमा लुम्बिनीका कप्तान राष्ट्रिय टिमका लिडर रोहितकुमार पौडेलले टिमको नेतृत्व गर्दैछन् भने चितवनको कप्तानी कुशल मल्लले गर्नेछन् ।

पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरी दुई अंक बटुलिसकेको चितवन उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ भने लुम्बिनी पहिलो खेलमा शानदार प्रदर्शन गर्ने रणनीतिका साथ मैदान प्रवेश गर्दैछ ।

चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल नै हुन् । उनले टिमको कप्तानी गर्दैछन् । टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल हुन् । चितवनले नेपाली र विदेशी खेलाडीको सन्तुलित मिश्रण तयार पारेको देखिन्छ । इङ्ल्यान्डका रवी बोपाराले पहिलो खेलमै आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् भने सोहेल तनविरको प्रदर्शन लुम्बिनीका लागि भारी पर्न सक्छ ।

चितवनबाट सैफ अली जैव, डेविड मलान र अल्पेस रामजानीले पनि खेल्दैछन् । चितवनमा नेपाली चर्चित नामहरू रिजन ढकाल, कमलसिंह ऐरी, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला, दीपक बोहरा र गौतम केसी रहेका छन् ।

एनपीएलको पहिलो संस्करणमा एउटा मात्र खेल जितेको लुम्बिनी यो सिजन शानदार सुरुवात गर्न चाहन्छ । राष्ट्रिय टोलीका कप्तान पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा पूर्व क्रिकेटर शक्ति गौचनको विशेष प्रशिक्षण र साथ रहेको छ । यो सिजन लुम्बिनीले अस्ट्रेलियाका ब्याटर डार्सी सटसँगै अफगानिस्तानका अलराउन्डर गुल्बदिन नइबलाई अनुबन्ध गरेको छ । अन्य विदेशी खेलाडीमा थोमस ड्राका, नामिबियाका जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान समेटिएका छन् ।

लुम्बिनीमा कप्तान पौडेलसँगै नेपाली खेलाडीहरू सन्दीप जोरा, दिनेश अधिकारी, समीर अली, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन, शेर मल्ल र दिलीप नाथलगायत चर्चित नामहरू समेटिएका छन् ।

अहिलेसम्म काठमाडौं, चितवन, विराटनगर र सुदूरपश्चिमले दुई/दुई अंक जोडिसकेका छन् । एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =