नेपाल बैंकको ८९ औँ वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।
वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०८२ साल कार्तिक ३० गते आफ्नो ८८ औँ वर्ष पुरा गरी ८९ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा। डा। डिल्लीराज शर्माले गरेका थिए ।
करिब १० लाख ग्राहकहरूले डिजिटल प्रविधि मार्फत बैंकिंङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले जानकारी दिएको छ ।
उक्त वार्षिकोत्सव कार्यक्रममा २५ वर्ष अटुट सेवा गर्ने ३ जना, २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीहरूलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसैगरि सुरक्षास्थितको प्रतिकुल अवस्थामा पनि बैंकको सुरक्षा मजबुत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गौरादह शाखा र नयाँ वानेश्वर शाखाका सुरक्षकहरुलाई पुरस्कृत गरिएको थियो ।
उक्त कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो ।
अन्त्यमा, सभाका अध्यक्षले बैंकमा कर्मचारी वर्गलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न आग्रह गर्दै सबैले आ–आफ्ना अधिकार क्षेत्रभित्र रहेर उच्च मनोबल तथा इमान्दारीकासाथ कार्यक्षेत्रमा लाग्न प्रेरित गरे र बैंक व्यवस्थापनलाई सञ्चालक समितिको सदैव साथ रहने विश्वास समेत दिलाए ।








