बालेनलाई रोक्न नसकेकोमा पछुतो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को उदय हुनुमा पार्टीको कमजोर टिकट वितरण प्रक्रिया र आन्तरिक निर्णय प्रक्रिया प्रमुख कारक रहेको स्वीकार गरेका छन् । केन्द्रीय समिति बैठकमा आत्ममूल्यांकन गर्दै थापाले आफूबाट भएका गल्तीहरू कोट्याउने क्रममा यो महत्त्वपूर्ण प्रसङ्ग उठाएका हुन् ।

महामन्त्री थापाले बालेन र काठमाडौँ महानगरपालिकाको नाम सिधै नलिइकनै २०७९ सालको स्थानीय तहको निर्वाचनको घटनाक्रमलाई स्मरण गरे । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्ने बेलामा सभापतिजीले मलाई बोलाउनुभयो । साँझको समय थियो । मैले उहाँलाई एउटा पालिकाको सन्दर्भमा भने, यो निर्णय आज यदि तपाईंले गर्नुभयो भने सभापतिज्यू दाइ, यो निर्णयको कारणले गर्दा जुन पात्र आउँछ, त्यसले नेपालको राजनीतिमा धेरै समयसम्म हामीले ठूलो मूल्य चुकाउनुपर्छ । यो निर्णय नगर्नुस् ।’

थापाले आफूले उक्त निर्णय रोक्नका लागि गरेको प्रयासबारे पनि जानकारी दिए । उनले थपे, ‘रोकौँ भनेर भनेँ । तर सभापतिज्यूले मैले बोली दिइसकेँ भन्नुभयो । भोलिपल्ट पनि नेताहरूलाई भनेँ तर मैले रोक्न सकिनँ, बुझाउन सकिनँ । मैले गल्ती गरेकै हो ।’

आफ्नो अडानमा दृढ रहन नसकेकोमा पश्चाताप व्यक्त गर्दै थापाले भने, ‘मैले त्यस बेला घुँडा धसेर मान्नु हुँदैनथ्यो । मैले अडान लिनैपर्ने थियो । रोक्नैपर्ने थियो ।’ सभापतिसँगको संवादलाई उद्धृत गर्दै उनले थपे, ‘मैले उहाँलाई भनेँ, सभापतिज्यू, यो निर्णयले ठूलो असर पार्छ । तर उहाँले ‘यार मिल्दैन यार’ भन्नुभयो । त्यस बेलाको त्यो निर्णय अब नेपालकै राजनीतिले मूल्य तिर्दैछ ।’

महामन्त्री थापाले यसअघि पनि पार्टीभित्र महत्त्वपूर्ण मोडहरूमा सभापतिको निर्णय वा बहुमतको रायलाई स्वीकार गरेको र त्यसलाई मान्नु हुँदैनथ्यो भन्ने अनुभूति गरेको बताए । वर्तमान अवस्थामा पनि कांग्रेसभित्र नेतृत्वको शैली र निर्णय प्रक्रियामा व्यापक सुधार आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =