नोबेल मेडिकल कलेजद्वारा अनुसन्धान अनुदान घोषणा

काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्न अनुसन्धान अनुदान कार्यक्रमको घोषणा गरेको छ । अनुसन्धान संस्कृतिलाई संस्थागत रूपमा विस्तार गर्ने र अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो अनुदानको व्यवस्था गरिएको नोबेलले जनाएको छ ।
कलेजका सञ्चालक डा. सुनिल कुमार शर्मा र उनकी धर्मपत्नी इन्दिरा शर्मा बरालले संयुक्त रूपमा नयाँ अनुसन्धान इकाईको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोर्ड सल्लाहकार सोइना शर्मा, नोबेलका पदाधिकारी, विभिन्न विभागका फ्याकल्टी सदस्य, अनुसन्धान इकाईका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अनुसन्धान इकाईका प्रमुख प्रा. डा. गेहनाथ बरालले नोबेल मेडिकल कलेजले स्वास्थ्य सेवा क्षेत्रमा प्राप्त उपलब्धिलाई थप मजबुत बनाउन अनुसन्धानलाई निरन्तरता दिनु आवश्यक रहेको बताए । उनले अनुसन्धान इकाईको स्थापना र अनुदान व्यवस्थाले चिकित्सा क्षेत्रमा गुणात्मक योगदान पु¥याउने विश्वास व्यक्त गर्दै डा. शर्मा परिवारको सहयोगप्रति आभार व्यक्त गरे ।
सो अवसरमा नोबेलका अन्तर्राष्ट्रिय निर्देशक डा. निरञ्जन कुमारले विश्वभर स्वास्थ्य क्षेत्रका अनुसन्धानमा तीव्र प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै, नेपालमा पनि त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक रहेको बताए ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकारी प्रा. डा. रामहरी घिमिरेले अनुसन्धान तथ्यपरक र यथार्थपरक हुनुपर्नेमा जोड दिए । अनुसन्धानले प्रत्यक्ष रूपमा चिकित्सा सेवा र जनस्वास्थ्यमा योगदान पु¥याउन सक्ने खालको हुनुपर्ने उनको भनाइ थियो ।
प्राचार्य प्रा. डा. राजेश नेपालले कार्यक्रममा वार्षिक १० लाख रुपैयाँ बराबरको अनुसन्धान अनुदानको घोषणा गरे । सो अनुदान अन्तर्गत नोबेलमा कार्यरत फ्याकल्टी, चिकित्सक, चिकित्सा कर्मचारी र विद्यार्थीका ३ अनुसन्धान टोली तथा बाह्य ३ टोली गरी नेपालभित्र ६ वटा अनुसन्धानलाई र थप २ अन्तर्राष्ट्रिय अनुसन्धानलाई अनुदान प्रदान गरिनेछ ।
अनुदान प्राप्त गर्न इच्छुकले नोबेलको अनुसन्धान इकाईले तोकेको कार्यविधि पूरा गर्नुपर्ने बताइएको छ। कार्यक्रमको समापन गर्दै प्रा. डा. विश्वनाथ अधिकारीले सफलताको शुभकामना व्यक्त गरे ।
श्रोतका अनुसार, देशभरका प्राइभेट मेडिकल कलेजहरूमध्ये पहिलोपटक नोबेलले यस किसिमको संरचित अनुसन्धान अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।
डा. सुनिल शर्माले विगतदेखि नै दुरदराजका स्वास्थ्य शिविर, विपन्न बिरामीको निःशुल्क उपचार र आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।
उनले नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा विशेषज्ञ सेवाहरू थप्दै स्वास्थ्य सेवा गुणस्तरीय र सर्वसुलभ बनाउन निरन्तर प्रयासरत रहेका छन् ।









