ओलीले सडकमा आतङ्क सिर्जना गर्ने मनसायले अभिव्यक्ति दिइरहेका छन्: रिजाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकतालाई बढवा दिइरहनुभएको आरोप लगाएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठकमा उहाँले सो आरोप लगाएका हुन् ।

जेन—जी विद्रोहपछि सत्ताच्युत भएका ओलीले सडकमा आतङ्क सिर्जना गर्ने मनसाय राखेर अभिव्यक्तिहरू दिइराखेको उनको आरोप छ । सरकारको अनुमति विना सडक प्रदर्शनमा जानुपर्ने, सरकारले बनाएका छानबिन समिति, संरचनाहरूको नमान्य लगायतका ओलीका अभिव्यक्तिले देशलाई मुटभेडतिर लाने हो कि रु भन्ने शंका उत्पन्न भएको उनले बताए ।

उनले वर्तमान सरकार पनि जिम्मेवार नवनेको बताएका छन् । जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा संविधानका केही मर्महरूलाई कुल्चिएर भएपनि निर्वाचन गर्नको लागि बनेको सरकार निर्वाचन गराउन गम्भीर नभएको उनको भनाई छ । सरकार रहेका कतिपय मन्त्रीहरूको अभिव्यक्तिले चुनावी वातावरणलाई बिगार्ने उनले बताए ।

उनले भने ‘तत्कालीन प्रधानमन्त्री केपी ओलीले अहिले पनि त्यही खालको अराजकतालाई बढवा दिनेखालको हिसाबले सडकमा आतङ्क सिर्जना होस् भन्ने मनसाय राखेर अभिव्यक्तिहरू दिइराख्नुभएको छ । अहिले पनि हामी संविधान मान्छौँ, नियम कानुन मान्छौँ भनेर यही संविधान र कानुनअनुसार चल्ने हामी राजनीतिक पार्टीका प्रतिनिधिहरू हौँ, राजनीतिक पार्टीहरू छौँ । तर हिजो मात्रै उहाँको पार्टीको एउटा सङ्गठनका कार्यकर्ताहरूलाई निर्देशन दिँदा सरकारको अनुमति नलिईकन पनि सडकमा प्रदर्शनमा जानुपर्छ भन्ने जुन खालको अराजक अभिव्यक्ति दिनुभयो । यसले कतै न कतै यो देशलाई मुठभेड तिर लाने हो कि रु उहाँ भन्नुहुन्छ, विभिन्न खालको सरकारले संरचना, सरकारले बनाएको छानबिन आयोगका प्रति अथवा सरकारकाप्रति उहाँको जुन खालको टिप्पणी छ । यसले अझै पनि देशलाई रणभूमिको मैदान बनाउने खालको अभिव्यक्तिहरू आएका छन्, यो आपत्तिजनक छ । त्यसैगरी सरकारको नेतृत्व जुन विषम परिस्थितिमा संविधानका केही मर्महरूलाई कुल्चिएर भएपनि सम्माननीय राष्ट्रपतिज्यूले भन्नुभएको छ, निकै छलफल गरे निकै जुक्तिका साथ, असाध्यै अप्ठ्यारो परिस्थितिबाट मुलुकलाई जोगाइएको छ । देशको सार्वभौमिक सत्ता र संविधान जोगाउन सकिएको छ । यसलाई हामीले चाहिँ जोगाएर जानुपर्छ । चुनावका माध्यमद्वारा हामी चाहिँ त्यसलाई फेरि संस्थागत गर्न जानुपर्छ भनेर जुन खालको भन्नुभएको छ, र त्यही एउटा चाहिँ नि कार्ययोजना सरकारलाई दिएर फागुन २१ को चाहिँ नि चुनाव गराउने एउटा चाहिँ नि काम दिएर चाहिँ सरकार गठन भएको छ । तर सरकारमा बस्ने र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीज्यू लगायतका कतिपय मन्त्रीज्यूहरूको अभिव्यक्ति हेर्दाखेरि त्यो चुनावतर्फ जानका लागि उपयुक्त वातावरण बनेको छैन जस्तो हामीलाई आभास हुन्छ ।’

उनले सरकारलाई निर्वाचन गर्ने वातावरण बनाउनको लागि राष्ट्रिय सभा र यस अन्तर्गतका समितिहरू सक्रिय हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =