रास्वपाद्वारा समानुपातिक उम्मेदवारको आवेदन आह्वान

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको आवेदन आह्वान गरेको छ ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यले तयार पारेको उम्मेदवार छनोटको रूपरेखाअनुसार आवेदन आह्वान गरिएको हो ।

रास्वपाले उम्मेदवार बन्न इच्छुकका लागि केही सर्त तथा मापदण्ड निर्धारण गरेको छ । पार्टीका अनुसार उम्मेदवारले सार्वजनिक पदको दुरुपयोग नगरेको, वैवाहिक अवस्था वैध रहेको, जात वा लिंगका आधारमा अपमान वा कमजोर वर्गमाथि शोषणजस्ता आचरण नगरेको र आम्दानी पारदर्शी भएको स्वघोषणा गर्नुपर्नेछ ।

छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष रहोस् भन्ने उद्देश्यले रास्वपाले अडिट समिति गठन गर्ने जनाएको छ ।

पार्टीले समानुपातिक बन्दसूचीको प्रारूपलाई संविधानले तोकेको जातीय क्लस्टरका साथै जनसांख्यिक र प्रादेशिक अनुपातका आधारमा तयार पारेको बताएको छ । यसअनुसार, २०७९ सालको आम निर्वाचनमा प्राप्त मतको प्रादेशिक अनुपातलाई समेत आधार मानेर ११० जनाको बन्दसूची निर्माण गरिएको रास्वपाको दाबी छ ।

रास्वपाले यो व्यवस्थाले प्रदेशगत समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने र जनसांख्यिक सन्तुलनलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेको छ ।

त्यस्तै, ‘जेनजी स्पिरिट’लाई समेट्दै ४० वर्षबीचका युवाका लागि जनसंख्या अनुपातअनुसार २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको रास्वपाले जनाएको छ ।

साथै, विदेशबाट फर्किने नेपालीहरूको प्रतिनिधित्वका लागि १० प्रतिशत कोटा तोकिएको प्रवक्ता झाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =