पुनः डेराको जिन्दगीमा फर्किएँ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूलाई सधैँ सुशासनको पक्षपातीका रूपमा उभ्याउँदै आए पनि हालैको एक घटनाले आफूलाई भ्रष्टाचारविरोधी अभियानको ‘निशाना’ मा पारेकोमा गहिरो दुःख व्यक्त गरेका छन् । भदौ २४ गतेको तोडफोड र आगजनीबाट आफ्नो निवास ध्वस्त भएपछि उनले एक भावुक अनुभूति सार्वजनिक गर्दै आफ्नो पारिवारिक, राजनीतिक र संसदीय यात्राका अन्तरंगहरूलाई मिडियासामु ल्याएका छन् ।
जेन जी आन्दोलनका क्रममा आफ्नो घरमा आगलागी र तोडफोड भएपछि करिब दुई महिनासम्म साथीको घरमा आश्रय लिनुपरेको र हालै मात्र फ्ल्याट भाडामा लिएर ‘डेराको जिन्दगी’ सुरु गरेको पोखरेलले उल्लेख गरेका छन् । जीवनमा आएका यी अप्रत्याशित उतारचढावलाई उनले भावनात्मक रूपमा सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।
पोखरेलले आफ्नो लामो वृत्तान्तमा आफू संसद भएको बेला ‘प्राडो र पजेरो संस्कृति’ भित्रिए पनि आफूले कहिल्यै त्यस्तो सुविधा नलिएको स्पष्ट पारेका छन् । उनले गम्भीर प्रकृतिको रोग लाग्दा पनि राज्यबाट उपचार खर्चबापत कुनै सहयोग नलिएको दाबी गरेका छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा शतप्रतिशत पुँजीगत खर्च गर्न सफल भएको र आफूले सम्हालेको अर्थ मन्त्रालयमा समेत बेरुजु शून्य रहेको जस्ता आफ्ना उपलब्धिहरूलाई उनले उजागर गरेका छन् ।
“मैले अहिलेसम्म हरेक काममा आफूलाई आर्थिक अनुशासन र मितव्ययिताका दृष्टिले उदाहरणीय बन्ने र बनाउने प्रयास गरेँ,” पोखरेलले लेखेका छन्, “तर भ्रष्टाचार विरोधका नाममा भएको कथित आक्रमणमा चर्को निशानामा हाम्रो परिवार पर्न गयो ।”
पोखरेलले आफ्नो परिवारको सामाजिक योगदानबारे पनि प्रकाश पारेका छन् । उनका अनुसार दाङमा शिक्षा र समाजसेवाका लागि परिवारले ३ सय बिघाभन्दा बढी जग्गा दान गरेको थियो । दाजुभाइसँगको अंशबन्डापछि हाल उनीसँग चार बिघा जग्गा रहेको उनले उल्लेख गरेका छन् ।
१६ वर्षको उमेरदेखि नै पढाइका लागि घर छाडेको र त्यसपछि राजनीतिमा होमिएको पोखरेलले स्मरण गरेका छन् । अध्ययनकै क्रममा बनारसमा बस्दा नेपाली समुदायसँग मिलेर समाजसेवा र राजनीतिमा सक्रिय रहेको उनले बताएका छन् । बनारसको पढाइ सकेर नेपाल फर्केपछि अनेरास्ववियुको नेपाल बन्दका क्रममा घोराहीमा पक्राउ परेको र करिब पाँच महिना जेल जीवन बिताएको अनुभव पनि उनले साटेका छन् ।
कोटेश्वरमा रहेको चार आना जग्गा आफ्नी जेठी सासू (सुजिता शाक्यकी दिदी) ले उपहार दिएको र दाजुले पुर्ख्यौली सम्पत्ति बेचेर पठाएको रकमबाट घर बनाएको उनले प्रस्ट पारेका छन् । “अमेरिकामा डिभी परेर जानु भएकी सुजिताकी दिदीले किन्नु भएको चार आनाको घडेरी बहिनीलाई दिनुभयो । पैतृक सम्पत्तिको जग्गा बिक्रीबाट दाजुले पठाएको रकमले त्यहाँ घर बनायौँ,” महासचिव पोखरेलले लेखेका छन् ।








