प्रतिनिधिसभा पुनःस्थापनाको तयारीमा एमाले, सांसदहरूको हस्ताक्षर संकलन सुरु

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा लैजाने तयारीसँगै नेकपा (एमाले) ले आफ्ना सांसदहरूबाट हस्ताक्षर संकलन गर्न थालेको छ ।
प्रतिनिधिसभा विघटनपछि अधिकांश सांसद जिल्ला बाहिर रहेका कारण काठमाडौंमा उपलब्ध सांसदहरूमार्फत् हस्ताक्षर संकलन भइरहेको एक एमाले सांसदले जानकारी दिए । तर, हस्ताक्षर संकलनको ठ्याक्कै प्रयोजनबारे पार्टीले खुलाएको छैन ।
एमालेले पछिल्ला दिनमा प्रतिनिधिसभा पुनःस्थापनाको वकालत गर्दै आएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनाव गराउने संकेत नदेखाएको र त्यसतर्फ अग्रसर नभएको भन्दै एमालेले पुनः स्थापनाकै विकल्पमा जाने निष्कर्ष निकालेको हो ।
यसअघि बसेका सचिवालय र केन्द्रीय कमिटी बैठकहरूले पनि पुनःस्थापनालाई मुख्य एजेन्डा बनाएका थिए । त्यसै निर्णयअनुसार जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि) मार्फत् एमालेले वडा तहदेखि केन्द्रसम्मका नेता–कार्यकर्तालाई पुनःस्थापनाको पक्षमा परिचालन गर्न आह्वान गरेको छ ।
एमालेले कात्तिक २२ गते वडा भेला, कात्तिक २५ गते पालिका भेला र कात्तिक २९ गते जिल्लास्तरीय जनसभा गर्ने जनाएको छ । केन्द्रमा भने मंसिर ६ गते ठूलो जनसभा आयोजना गर्दैछ । यी कार्यक्रममार्फत प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा जनदबाब सिर्जना गर्ने एमालेको तयारी छ ।
प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट दायर गर्न सांसदहरूको हस्ताक्षर संकलन भइरहेको चर्चा भइरहेका बेला, एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले पनि हस्ताक्षर संकलन भइरहेको स्वीकार गरेका छन् ।
‘पहिलाको हस्ताक्षर सबै जलिहाल्यो,’ उनले भने, ‘अहिले पार्टीले पुनःस्थापनामा जाने निर्णय गरेको छ । तर कानुनी उपचारका विकल्पबारे छलफल भइरहेको छ । संसदीय दल नै नभएकाले त्यसको तर्फबाट होइन, पार्टी तहमै छलफल चलिरहेको हो ।’
उनका अनुसार रिट कहिले दायर गर्ने भन्ने विषयमा भने अन्तिम निर्णय भइसकेको छैन । ‘कहिले रिट लिएर जान्छौं, त्यो छलफलमै छ । अन्य दलहरूसँग पनि परामर्श भइरहेको छ,’ उनले थपे ।








