स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल एनपीएस नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । नेपाली डिजिटल भुक्तानी प्रणालीमा एउटा नयाँ आयाम थपिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस नेशनल कार्ड स्विच’ तथा ‘नेपालपे कार्ड’ को प्रिन्सिपल मेम्बरसिपका लागि महत्वपूर्ण सम्झौता भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा हेड अफ कभरेज, नेपाल, श्री गोरख राणा र एनसीएचएलका सीईओ श्री निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सहकार्यले नेपालको आफ्नै घरेलु कार्ड स्किमलाई प्रवद्र्धन गर्दै डिजिटल भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ‘एनपीएस–एनसीएस’ पूर्वाधारको तयारीपछि व्यावसायिक सञ्चालन गर्ने तयारी गरिरहेको छ । यसै क्रममा, नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ को इस्यूइङ्ग (जारी गर्ने) र अक्वायरिङ्ग (भुक्तानी स्वीकार गर्ने) का लागि बैंक तथा वित्तीय संस्थाहरूलाई स्विच इन्टिग्रेट गर्न आवश्यक समन्वय र सहयोग गर्दै आएको छ ।

‘नेपालपे’ पूर्वाधारको व्यावसायिक सुरुवात (कमर्सियल रोलआउट) पश्चात् स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरूका लागि उक्त कार्ड जारी गर्न र यसबाट हुने भुक्तानीहरू स्वीकार गर्न सक्नेछ । यसले ग्राहकहरूलाई थप सुरक्षित र सुविधाजनक भुक्तानी विकल्प प्रदान गर्नेछ ।

‘एनपीएस–एनसीएस’ लाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै घरेलु कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक केन्द्रीय कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ । यस प्रणालीको पूर्ण कार्यान्वयनले घरेलु कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीन उपकरणहरूको विकास तथा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

हाल एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ (भुक्तानी सेवा सञ्चालक) र पीएसपी (भुक्तानी सेवा प्रदायक) र १०० भन्दा बढी गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । ‘एनपीएस–एनसीएस’ र ‘नेपालपे कार्ड’ को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइँमा पुर्याई डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले देशभर रहेका १४ वटा शाखा, ४ विस्तारित काउन्टरहरू तथा २५ एटीएम टर्मिनलमार्फत ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यो नयाँ सम्झौताले बैंकका ग्राहकहरूलाई अझै आधुनिक र स्वदेशी भुक्तानी प्रणालीसँग जोड्ने अवसर प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =