तीन हारपछि नेपालको चौथो खेलमा के होला ?

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुने यो खेल नेपालका लागि प्रतिष्ठा जोगाउने अन्तिम अवसर हो ।
जारी शृङ्खलामा नेपालले लगातार तीन हार बेहोर्दै निराशाजनक प्रदर्शन गरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनको फराकिलो हार, दोस्रो खेलमा युएईसँग ५ विकेटको पराजय र तेस्रो खेलमा फेरि अमेरिकासँगै चार विकेटको हारले नेपाली टोली दबाबमा छ। आजको खेल जित्नै पर्ने बाध्यताका साथ नेपाल मैदानमा उत्रँदैछ ।
यता, शृङ्खलाको आयोजक युएईलाई पनि नेपालसँगको खेल जित्नुपर्ने दबाब उत्तिकै छ । अमेरिका, नेपाल र युएई सम्मिलित यो शृङ्खलामा अपराजित रहँदै अमेरिका शीर्ष स्थानमा छ ।
अंक तालिकामा पनि अमेरिका २४ खेलबाट ३६ अंक जोड्दै बलियो स्थितिमा छ । १९ खेल खेलेको युएई मात्र ८ अंकका साथ पुछारमा छ । समान १९ खेल खेलेको नेपालको भने १२ अंक छ । यो शृङ्खलाका तीन खेल खेलिसक्दासमेत नेपालले अंक जोड्न नसक्नु चिन्ताको विषय बनेको छ ।








