एन्फाको वैधानिकतामाथि प्रश्न

लिगको बैठक मन्त्रालयमा डाकेपछि पूर्व अध्यक्षको आक्रोश

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको भावी स्वरुपबारे छलफल गर्न क्लबहरूलाई पत्राचार गरेसँगै नयाँ विवाद सिर्जना भएको छ । यसपटकको छलफल एन्फा मुख्यालयमा नभई युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा हुने भएपछि एन्फाको निर्णय प्रक्रिया र बैधानिकतामाथि गम्भीर प्रश्न उठेको छ ।

बिहीबार दिउँसो १ बजेका लागि तय भएको यस बैठकमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको समेत उपस्थिति रहने एन्फाको पत्रमा उल्लेख  छ । एन्फाले १४ वटै ए डिभिजन क्लबका अध्यक्ष/महासचिवलाई पठाएको पत्रमा भनिएको छ, ‘युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताबाट अखिल नेपाल फुटबल संघका पदाधिकारी र ए डिभिजन क्लबसँग सहिद स्मारक ए डिभिजन लिग सम्बन्धमा छलफल गर्न तपशिल बमोजिमको समय र स्थानमा यहाँका क्लबका अध्यक्ष/महासचिवज्यूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।’

मन्त्रालयमा लिगसम्बन्धी बैठक डाकिएपछि एन्फाका पूर्व अध्यक्ष तथा ए डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाको कदममाथि कडा आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनेका छन्, ‘गलत परम्परा बसाल्न को लाग्छन् कुन्नी ? खेलकुद मन्त्रालयले सहिद स्मारक लिगको बैठक आयोजना गर्ने रे ! खेलकुदको कुन ऐन, नियम, कार्यविधि र निर्देशिकाको आधारमा मन्त्रालयले गर्ने हो ? अब एन्फाको कार्यलय नै खेलकुद मन्त्रालयमा सारे हुन्न र ? लिग मन्त्रालयले गर्ने हो कि कसो ? के एन्फा नलायक नै भयो त लिगको बैठक पनि मन्त्रालयमा गर्नुपर्ने !’

शेर्पाले यस कदमलाई सस्तो लोकप्रियताको संज्ञा दिँदै विधि र विधानको स्थापना जेनजी आन्दोलनको उद्देश्य हुनुपर्नेमा जोड दिएका छन् । उनको यो भनाइले एन्फाको निर्णय क्षमता र स्वतन्त्रतामाथि नै प्रश्नचिन्ह खडा गरेको छ ।

गत असोज अन्तिम साता एन्फाले यो वर्ष गर्ने भनिएको सहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने घोषणा गरेको थियो । पुस ६ गतेदेखि गर्ने भनिएको लिगका लागि क्लबहरूले थप समयको माग गरेपछि होम एन्ड अवे प्रणालीमा लिग आयोजना गर्न नसकिने एन्फाको भनाइ थियो । त्यतिबेला एन्फाले शीर्ष डिभिजनको लिग गर्ने बताए पनि स्पष्ट ढाँचा खुलाएको थिएन । छठपछि क्लबहरूसँग छलफल गर्ने बताएको एन्फाले ए डिभिजन लिगको सट्टा राष्ट्रिय लिग गर्ने संकेत दिएको थियो । अघिल्लो संस्करणका शीर्ष ६ क्लब र प्रदेश स्तरको प्रेसिडेन्ट लिग खेलेका ४ क्लब गरी १० क्लबबीच राष्ट्रिय लिग गराउने एन्फाको योजना रहेको बुझिएको छ ।

यसअघि पनि क्लबहरूसँगको एन्फाको बैठक पटक-पटक स्थगित हुँदै आएको थियो । पछिल्लो पटक २०७९/२०८० को लिग २०८० को जेठ २३ मा सकिएको थियो, जहाँ चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो । साढे दुई वर्षपछि एन्फाले अर्को लिग आयोजनाको तयारी गरिरहेको भए पनि यसको स्वरूप र समय अझै अन्योलमै छ । समयमै लिग गर्न नसकेको भन्दै एन्फामाथि विगतदेखि नै चर्को आलोचना हुँदै आएको छ ।

एकातर्फ मन्त्रालयमा लिगको भविष्यबारे छलफल हुने कुराले एन्फाको स्वायत्ततामाथि प्रश्न उठाएको छ भने अर्कोतर्फ लिगको ढाँचा र समयको अनिश्चितताले खेलाडी, क्लब र फुटबल समर्थकमा निराशा छाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =