हामीले सत्ता सञ्चालन गर्न जानेनौँ, स्वार्थी भयौँ: चन्द्र भण्डारी

काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले नेपाली काँग्रेसले सत्ता सञ्चालन गर्न नजानेको बताएका छन् ।

बिपी चिन्तन प्रतिष्ठानद्वारा बुधवार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले काँग्रेस नेपाली जनतालाई मौलिक अधिकार दिलाउन तथा प्रजातान्त्रिक आन्दोलनमा सधैँ सफल भएपनि सत्ता सञ्चालन गर्ने विषयमा भने चुकेको बताए ।

सत्ता सञ्चालन गर्ने बेलामा स्वार्थी र लोभी बनेको उनको आरोप छ । मुलुक, प्रजातन्त्र र पार्टीभन्दा व्यक्ति बलियो बन्ने प्रवृत्तिले नै अहिलेको समस्या रहेको उहाँको भनाई छ । यो समस्या समाधान नगरीकन व्यक्ति परिवर्तन भएपनि प्रवृत्ति परिवर्तन नहुने उनले बताए ।

उनले प्रवृत्ति परिवर्तन नभईकन मुलुक, प्रजातन्त्र र पार्टी पनि बलियो नहुने उल्लेख गरे । सुशासन र पारदर्शी कायम गर्न नसक्दा जेनजी विद्रोह भएको उनको भनाई छ । युवाहरूको मागलाई साथ दिनुपर्नेमा पनि उनले जोड दिए ।

उनले बिपी कोइरालाले युवालाई साथ नदिँदा देशमा सांस्कृतिक क्रान्ति हुने र त्यसलाई थाम्न नसक्ने बताएको पनि स्मरण गरे । उनले २०३३ सालमा देश शंकटमा रहेको बेलामा बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएको उल्लेख गरे । उनले हाल एक अर्कालाई दोषारोपण गरेर बस्ने बेला नभएको बताए । राष्ट्रलाई अप्ठ्यारो परेको बेला सबै कुरा गौण हुने उनको भनाई छ ।

उनले भने ‘अहिले देश संकटमा छ । कसरी यो कुरा हामीले बुझ्न प¥यो । विपिले त्यतिबेलै भन्नुभएको छ, हामीले युवालाई साथ दिएनौ भने युवाले हामीलाई साथ दिँदैन । यदि देशमा कुनै सांस्कृतिक क्रान्ति भयो भने हामीले थाम्न सक्दैनौँ । विपिले त्यतिबेलै भनेको हो । अहिले बिपीका कुरा गर्ने, बिपीको आचरण नगर्ने, गणेशमानजीको नगर्ने, किशुनजीको नगर्ने, सुवर्ण शमसेरको नगर्ने । के नेताका परिवारहरूले आफ्ना बाउआमाको आचरण पालना गरेका छन् ? यो सबैभन्दा ठुलो प्रश्न हो । अहिले के छ त अवस्था भन्दा हामीले सबैभन्दा ठुलो, के हामीले केही गरेनौँ ? हामीले गर्यौँ । नेपाली काँग्रेसको इतिहासमा हामीले नेपाली जनतालाई मौलिक अधिकार दिलायौँ । पटकपटक प्रजातान्त्रिक आन्दोलनमा हामी लड्यौँ । हामी सफल भयौँ । कहाँ चुक्यौँ त भन्दा हामी सत्ता सञ्चालन गर्न जानेनौँ । हामी स्वार्थी भयौँ, हामी लोभी भयौँ । मुलुक, प्रजातन्त्र र पार्टीभन्दा आफू बलियो हुन खोज्यौँ यही हो अहिलेको समस्या । यो समाधान नगरीकन युवा पुस्ताले मेरो हातमा आउँछ भन्ने कल्पना नगर्नु । व्यक्ति परिवर्तन हुँला प्रवृत्ति परिवर्तन हुँदैन । प्रवृत्ति परिवर्तन नभईकन मुलुक बलियो पनि हुँदैन । प्रजातन्त्र बलियो पनि हुँदैन । पार्टी पनि बलियो हुँदैन । यो अहिलेसम्मको निष्कर्ष हो ।’

उनले देशमा नकारात्मकता बढी फैलिएको कारण विद्रोह भएको बताए । उनले नेपालीहरूलाई विभिन्न नाममा लडाउने गरिएको उल्लेख गरे । सोहीअनुसार हाल उमेरको नाममा लडाउन खोजिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =