निर्यातमा फड्को मार्दै नेपाल

काठमाडौँ । पछिल्लो समय निर्यातले फड्को मार्दै गएको छ । चालु आर्थिक वर्ष आ.व.० २०८२–८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म नेपालको निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८९.६४ प्रतिशतले बढी छ ।

भन्सार विभागको तथ्यांकअनुसार निर्यातमा सशर्ष स्थानमा सोयाविन तेल रहेको छ । असोजसम्म ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ । कार्पेट दोस्रो स्थानमा छ । जुन २ अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ । तेस्रो स्थानमा सूर्यमुखी तेल रहेको छ । जुन २ अर्ब १३ करोड बराबरको भएको छ ।

निर्यात जन्यवस्तुहरु अलैँचीदेखि पस्मिना, गलैँचा, तयारी पोसाक, छुर्पीसम्मका वस्तुहरूको निर्यात बढेको छ । विभागकाअनुसार चालु आ.व. २०८२/८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको छ । यो निर्यात गत आवको सोही अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।

गत आ.व. २०८१–८२ को सोही अवधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७ सय ८३ मेट्रिक टन मात्रै अलैँची निर्यात भएको थियो । निर्यातमा उच्च वृद्धि हुँदा व्यापार घाटाको वृद्धिदर केही सम्हालिन पुगेको छ । यसरी निर्यात बढ्नु सकारात्मक रहेको र राज्यले निर्यात गरिरहेकाहरूलाई प्रोत्साहन गर्ने हो भने अझै बढ्न सक्ने उद्योगी, व्यवसायी बताउँछन् ।

नेपाल तयारी पोसाक उद्योग संघ अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल सरकारले निर्यातमा दिएको सुविधा बढाउने र अमेरिकी सरकारले जारी गरेको भन्सार दर लागू हुने हो भने निर्यात बढाउन कठिन नरहेको बताए । उनकाअनुसार अमेरिकाले थप १० प्रतिशत ट्यारिफ लगाएको छ । यो भनेको न्यूनतम हो । त्यसभित्र पर्न सफल हुनु भनेको अत्यन्तै सह्रानीय र स्वागतयोग्य छ ।

अहिले लाग्दै आएको ट्यारिफमा १० प्रतिशत लगाइए पनि निकासी पहिलेभन्दा महँगो भएपनि अरू देशको तुलनामा यो धेरै कम हो । यो दर लागू हुने हो भने पनि नेपालले निर्यातमा फड्को मार्नसक्ने उनले बताए ।

तयारी पोसाक उद्योग संघ अध्यक्ष पाण्डेले भने ‘यसपालिको निर्यातको तथ्याङ्क हेर्ने हो भने १ः६ मा आइपुगेको छ । यसलाई अझै घटाएर हामीले व्यापारघाटा कम गर्न सकिन्छ । निर्यात गर्नेहरूलाई दिने सुविधामा राज्यले पनि हेरिदिने, अमेरिकाको ट्यारिफ साँच्चिकै लागू हुने हो भने ३–५ वर्षमा व्यापारघाट शून्यमा ल्याउन सक्नेछौँ । तयारी पोसाक, गलैँचा, पस्मिना, छुर्पी, दुग्घजन्य वस्तु, हर्बल, हस्तकला, हातेकागजजस्ता समानहरूले व्यापारघाटा कम गराएर नेपालको विकासमा ठुलो टेवा पुर्याउछ ।’

उनकाअनुसार निर्यात बढ्दा ठुलो मात्रमा देशमा रोजगारी पनि सिर्जना हुन्छ । अर्थतन्त्र पनि सबल बनाउँछ । सबै उद्यमशीलतामा लाग्नेभएकाले यो क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्छ ।

अर्थविद् चन्द्रमणी अधिकारी स्वायविन र सूर्यमुखी तेलको निकासी दिगो नभएको बताउँछन् । उनकाअनुसार भारतको एउटा निर्णयले यसको निकासी ठप्प हुनसक्ने भएकोले अन्य वस्तुहरूको निकासी बढाउन नेपालले जोड दिनुपर्ने उनको भनाइ रहेको छ ।

‘निकासी बढ्नु राम्रो हो तर स्वायविन र सूर्यमुखी तेलको निकासी दिगो होइन,’ उनले भने । ‘अन्य वस्तुहरूको निकासी बढाउन जोड दिनुपर्छ ।,’
यद्यपि नेपालले पछिल्लो पटक निकासीमा पाएको सफलता सकारात्मक रहेको उनको बुझाइ छ । अधिकारीकाअनुसार निकासी गर्नेहरूलाई राज्यले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने उनको बुझाइ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =