विश्वकप लिग-२

विश्वकप लिग-२ : दुबईमा अमेरिकाको सामाम गर्दै नेपाल

आइसिसी विश्वकप लिग-२ को रोमाञ्चक यात्रामा आज नेपालले आफ्नो १७औँ खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अमेरिकासँग दुबई अन्तर्राष्ट्रिय स्टेडियममा बिहान ११ः१५ बजेदेखि प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोटमा शानदार च्याम्पियन बनेर उच्च मनोबलका साथ मैदानमा उत्रँदै गरेको नेपाल, यस सिरिजमा अमेरिकालाई पराजित गर्दै विजयी सुरुवात गर्ने दाउमा छ ।

नेपाली टोलीका लागि यो खेल विशेष महत्व राख्छ, किनकि लिग-२ मा नेपालले हालसम्म सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन। १६ खेलमध्ये ५ मा जित, ९ मा हार र २ मा अंक बाँड्दै १२ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको नेपाललाई अंक तालिकामा सुधार गर्न यो सिरिज महत्वपूर्ण छ। युएई सिरिजमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै नेपालले आफ्नो स्थिति सुधार्ने लक्ष्य राखेको छ।

उता, अमेरिका लिग-२ मा आफ्नो उत्कृष्ट लय कायम राख्न चाहन्छ। २० खेलमा १४ जित र ६ हारका साथ २८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा आसिन अमेरिका बलियो प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत भएको छ।

नेपाल र अमेरिकाबीचको ओडिआई इतिहासमा ९ खेलमा दुवै टोलीले ४-४ जित हात पारेका छन् भने एउटा खेल बराबरीमा टुंगिएको छ। पछिल्लो ५ ओडिआईमध्ये नेपालले एउटा खेल मात्र जितेको छ, जसमा गत वर्ष लिग-२ सिरिजमा अमेरिकाविरुद्ध लगातार दुई हारको पीडादायी अनुभव छ।

गत वर्ष अमेरिकामा भएको सिरिजमा नेपाल क्रमशः तीन विकेट र ३७ रनले पराजित भएको थियो। यसपटक नेपालसामु गत सिरिजको हारको बदला लिँदै अमेरिकाविरुद्ध जित निकाल्ने स्वर्णिम अवसर छ। पछिल्लोपटक नेपालले अमेरिकालाई २० जुन सन् २०२३ मा विश्वकप छनोटको खेलमा ६ विकेटले हराएको थियो र आज पनि सोही प्रदर्शन दोहोर्‍याउने लक्ष्य राखेको छ।

भारतीयमूलका खेलाडीले भरिपूर्ण अमेरिकालाई पराजित गर्न नेपाललाई त्यति सहज भने हुनेछैन। अमेरिका नेपालविरुद्ध जितमा ह्याट्रिक गर्ने दाउमा छ। ताजा आइसिसी ओडिआई वरीयतामा अमेरिका १४औँ स्थानमा छ भने नेपाल १७औँ स्थानमा छ। यसले पनि यो खेल कति प्रतिस्पर्धात्मक हुनेछ भन्ने संकेत गर्दछ।

दुबईको मैदानमा आज नेपाली टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै लिग-२ मा नयाँ ऊर्जाका साथ अगाडि बढ्ने अपेक्षा गरिएको छ। खेल नेपाली क्रिकेटप्रेमीका लागि निकै चासोको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =