अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षकै ठूलो गिरावट, लगानीकर्तामा छटपटी

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा अप्रत्याशित १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ । चाडबाडको समय नेपाली बजारमा सुनको माग उच्च हुने अपेक्षा गरिएका बेला मंगलबार ६.३ प्रतिशतले मूल्यमा गिरावट हो ।

यो गिरावटले उपभोक्ता र व्यवसायी दुवैलाई चकित पारेको छ भने लगानीकर्ताहरूमाझ छटपटी बढाएको छ । सोमबार एक ट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य ४,३८१ डलरसम्म पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो । तर मंगलबार ‘द फाइनान्सियल टाइम्स’ का अनुसार यो मूल्य ६.३ प्रतिशतले घटेर ४,०८२ डलरमा झरेको छ । सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको यो सबैभन्दा ठूलो गिरावट हो । यसले विश्वव्यापी सुन बजारमा नयाँ तरंग सिर्जना गरेको छ ।

एमकेएस पाम्पकी विश्लेषक निकी शिल्सलले यो गिरावटलाई ‘ढिलो आएको तर आवश्यक सुधार’ का रूपमा व्याख्या गरेकी छन् । उनका अनुसार, ‘अत्यधिक खरिदका कारण सुनको मूल्य पाउरोटीझैं फुलेको थियो।” यो गिरावटले मूल्य वृद्धिको यो क्रम अन्त्यतिर पुगेको संकेत दिएको उनले बताएकी छन् । विगत दुई महिनामा २५ प्रतिशतसम्म मूल्य बढेको थियो, जसमा ६ सातामै १,००० डलरको वृद्धि भएको थियो, जसले सुनको मूल्य कति उच्च बिन्दुमा पुगेको थियो भन्ने स्पष्ट पार्छ ।

सुनसँगै चाँदी र प्लेटिनमको मूल्यमा पनि क्रमशः ७.४ प्रतिशत र ५ प्रतिशतको ठूलो गिरावट आएको छ, जसले बहुमूल्य धातु बजारमा समग्र मन्दीको संकेत गरेको छ ।

के कारणले भयो यस्तो गिरावट ?
हालैका महिनाहरूमा सरकारी ऋणको वृद्धि, अमेरिकी डलरको कमजोर अवस्था, डोनाल्ड ट्रम्पको व्यापार युद्ध, र विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन खरिद गर्नु जस्ता कारणले लगानीकर्ताहरू सुरक्षित सम्पत्तिको रूपमा सुनमा आकर्षित भएका थिए । सेप्टेम्बरमा मात्रै सुनमा आधारित एक्सचेन्ज-ट्रेडेड फन्डहरूमा २६ अर्ब डलरको नयाँ लगानी भएको थियो । जापानदेखि अस्ट्रेलियासम्मका खुद्रा ग्राहकहरू पनि सुन किन्न झुम्मिएका थिए ।

तर, पछिल्लो समय अमेरिका-चीनबीच व्यापार तनाव घटेको संकेत, र अमेरिकी डलरमा पुनरूत्थानका संकेतहरू देखिनुले मंगलबारको मूल्य घटाउनमा भूमिका खेलेको विश्लेषकहरूले बताएका छन् ।

स्ट्यान्डर्ड चार्टर्डकी विश्लेषक सुकी कूपरले अहिलेको गिरावटलाई ‘प्राविधिक सुधार’ भनेकी छन् । उनको भनाइअनुसार, दीर्घकालमा सुनमा अझै मूल्य वृद्धि हुने सम्भावना छ । ‘पछिल्ला दुई महिनामा सुनमा लगानी गर्ने मानिसहरूको संख्या तीव्र रूपमा बढेको छ,’ उनले भनिन्, ‘अब उनीहरूको उत्साह र सहनशीलता कति बलियो छ भन्ने परीक्षण भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =