मोहन वैद्यले छोडे पार्टीको नेतृत्व, सीपी गजुरेल बने नयाँ महासचिव

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट स्वेच्छिक राजीनामा दिएका छन् । ८० वर्षीय वैद्यले स्वास्थ्यको कारण देखाउँदै महासचिवको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् ।
उनको स्थानमा पार्टीले स्थायी कमिटी सदस्य सीपी गजुरेललाई नयाँ महासचिव चयन गरेको छ । पार्टीका नवनिर्वाचित महासचिव सीपी गजुरेलले वैद्य लामो समयदेखि महासचिवको भूमिकामा रहेको र उनको स्वास्थ्यले साथ नदिएकाले केन्द्रीय समितिले आफूलाई यो जिम्मेवारी दिएको बताए । गजुरेलका अनुसार वैद्य अब पार्टीको सल्लाहकार र विशेष कमिटीमा रही सक्रिय रहनेछन् ।
मोहन वैद्यको नेतृत्वमा २०६९ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन नेकपा (माओवादी) बाट विद्रोह गरी नयाँ पार्टी ‘नेकपा-माओवादी’ गठन भएको थियो । २०८१ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बनेपछि पनि उनले महासचिवको भूमिका निर्वाह गर्दै आएका थिए ।
यस घटनाले नेपाली कम्युनिस्ट राजनीतिमा एक अनुभवी नेताको सक्रिय कार्यकारी भूमिकाको अन्त्य भएको संकेत गरेको छ । वैद्यको अनुभव र मार्गदर्शन पार्टीका लागि सल्लाहकारको रूपमा महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।








