नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छः कृषिमन्त्री

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको बताएका छन् ।

४५ औँ खाद्य दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पछिल्लो वर्षहरूमा नेपालले खाद्य सुरक्षा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए । भोकमरी सूचाङ्कमा सन् २००० मा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आइपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी उल्लेख्य सुधार गरेको उनले जानकारी दिए । अझैपनि नेपाल मध्यम जोखिमयुक्त मुलुकमा रहेको उनको भनाई छ ।

हिमाली क्षेत्रमा रहेका जनतामा बढी खाद्य असुरक्षा रहेको उनले बताए । हिमाली क्षेत्रमा खाद्यान्नको पहुँच वृद्धि गर्नसके अझ सुधार ल्याउन सकिने अवस्था रहेको उनको भनाई छ । उनले हाल वर्षभर खान नपुग्ने कृषक परिवारको संख्या करिब ५५ प्रतिशत रहेको बताए । करिब ५८ प्रतिशत जनसंख्या कृषि पेसामा नै संलग्न भएपनि यस क्षेत्रमा भूमि तथा श्रमिकको उत्पादकत्व न्यून रहेको उनको भनाई छ । उनका अनुसार कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेको छ ।

उनले भने ‘पछिल्लो वर्षहरूमा नेपालले खाद्य सुरक्षा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । फलस्वरूप विगत २५ वर्षमा नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छ । सन् २००० मा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आइपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी भोकमरी सूचाङ्कमा उल्लेख्य सुधार गरेको छ । तथापि अझैपनि नेपाल मध्यम जोखिमयुक्त मुलुकमा रहेको छ । खासगरी हिमाली क्षेत्रमा जनतामा बढी खाद्य असुरक्षित जनसंख्या रहेको सन्दर्भमा खाद्यान्नको पहुँच वृद्धि गर्नसके सो मा सुधार ल्याउन सकिने अवस्था छ । नेपालको विद्यमान अवस्थालाई हेर्दा कृषि गणना २०७८ अनुसार नेपालमा किसान परिवारको संख्या ४९ लाख ३० हजार रहेकामध्ये वर्षभरि खान नपुग्ने कृषक परिवारको संख्या करिब ५५ प्रतिशत रहेको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेको भएतापनि करिब ५८ प्रतिशत जनसंख्या कृषि पेसामा नै संलग्न हुनुपर्ने अवस्थाले गर्दा यस क्षेत्रमा भूमि तथा श्रमिकको उत्पादकत्व असाध्यै न्यून रहेको छ ।’

उनले बसाइसराइ, अव्यवस्थित सहरीकरण लगायतका कारण खेतीयोग्य जमिनमा ह्रास आउने क्रम बढेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =