संसद पुनः स्थापनाको बाटोमा लाग्नु हुँदैन: राजेन्द्र श्रेष्ठ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद पुनर्स्थापनाको बाटोमा लाग्न नहुने बताएका छन् ।

निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जेनजी आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि संसद पुनर्स्थापनाको बाटोमा लाग्न नहुनेमा जोड दिए । सरकारले घोषणा गरेको फागुन २१ मा निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न सबै लाग्नुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार संविधानसम्मत नभई आवश्यकताको सिद्धान्तको आधारमा बनेको पनि बताए ।

वर्तमान सरकार र आगामी फागुन २१ गतेको निर्वाचन प्रमुख दलहरूको सहमतिकै आधारमा बनेकोले विवाद गरेर बस्न आवश्यक नभएको उनको भनाई छ ।

उनले भने ‘खासगरी अहिलेको यो सरकार संविधानसम्मत ढङ्गले बनेको बनेको होइन तर यो चाहिँ आवश्यकताको सिद्धान्तअनुसार जेनजी आन्दोलनको जनादेशलाई सम्बोधन गर्नको लागि प्रमुख दलहरूको सहमतिमा बनेको सरकार भएको । स्वयं प्रधानमन्त्री पनि सहमतिमा बनेको र निर्वाचनको मिति पनि सहमतिमा नै घोषणा भएको हुँदाखेरि अब यसमा चाहिँ दुबिधा पाल्नुपर्ने कुनै आवश्यकता छैन भन्नेकुरा हाम्रो पार्टीलाई लागेको छ । यद्यपि अहिले फेरि पनि प्रतिनिधिसभा पुनर्स्थापनाको लागि मुद्दाहरू गएका छन् । अब मुद्दाले के गर्छ भन्नेकुरा पनि बहस त हुने नै भयो । तर अहिले जुन आन्दोलनको जनादेश छ, यो आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि पुनर्स्थापनाको बाटोमा लाग्न हुँदैन । अब घोषित निर्वाचनलाई सफलताको साथ सम्पन्न गर्नुपर्छ ।’

उनले राष्ट्रिय सभा सदस्य रिक्त हुन लागेकोले राष्ट्रिय सभाको निर्वाचन पनि समयमै गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 10 =