मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न लिङदेनलाई अल्टिमेटम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले मंसिर १८ गतेभन्दा अगाडी नै महाधिवेशनको मिति तोकिसक्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई अल्टिमेटम दिएका छन् ।

काठमाडौंमा आईतवार जबरा पक्षधर नेताहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न अल्टिमेटम दिएका हुन् । महामन्त्री जबराले महाधिवेशन गर्न दबाब दिने उद्देश्यले बैठक बोलाएका थिए ।

उनले वर्तमान कार्यसमितिको चार वर्ष कार्यकाल मंसिरको १८ गते सकिने भएकोले सो भन्दा अगाडी नै महाधिवेशनको मिति तोक्नुपर्ने बताए । मंसिरमा महाधिवेशन नगरे वर्तमान कार्यसमिति अवैध हुने उनको भनाई छ ।

आईतवार बसेको भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेकाहरुको कारबाही फुकुवा हुनुपर्ने र पार्टीमा एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए ।

भेलाले देशमा भइरहेको वर्तमान परिस्थितिमा पार्टीको एजेण्डालाई अगाडी सार्नुपर्नेमा पनि जोड दिएको उनको भनाई छ ।

संघीयता र गणतन्त्र खारेज गरेर देशलाई राजसंस्थासहितको हिन्दुराज्य बनाउनुपर्ने मागलाई अगाडी लिएर जानुपर्ने उनले बताए ।

राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ । महाधिवेशन गर्नको लागि केन्द्रिय समितिको बैठक बोलाउन महामन्त्री जबराको समूहले दबाब दिन थालेको हो । पार्टीको केन्द्रिय समितिको बैठक गत माघदेखि बस्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =