टी-२० विश्वकप छनोट : आज जापानसँग भिड्दै नेपाल

काठमाडौं । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपाल आज आफ्नो दोस्रो खेलमा जापानसँग भिड्दैछ । शुक्रबार दिउँसो सवा ४ बजे सुरु हुने यस खेलले समूह २ को विजेता र उपविजेताको टुंगो लगाउनेछ । दुवै टोलीले यसअघि कुवेतलाई पराजित गर्दै सुपर-सिक्समा स्थान सुरक्षित गरिसकेका छन् ।

नेपालले बुधबार कुवेतलाई ५८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने जापानले बिहीबार कुवेतले दिएको १७८ रनको लक्ष्य ५ विकेटले पूरा गर्दै शानदार जित दर्ता गरेको थियो । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ, किनभने यस खेलको अंक सुपर-सिक्समा पनि जोडिनेछ ।

आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी-२० विश्वकप २०२६ मा एसिया छनोटबाट तीन टोलीले स्थान बनाउनेछन् । सुपर-सिक्सपछि नेपाललाई विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नुपर्नेछ ।

छनोटका तीन समूह (समूह १ मा युएई, मलेसिया, कतार; समूह २ मा नेपाल, कुवेत, जापान; समूह ३ मा ओमान, पिएनजी, सामोआ) बाट शीर्ष २-२ टोली गरी कुल ६ टोली सुपर-सिक्समा प्रवेश गर्नेछन् । सुपर-सिक्समा प्रत्येक टोलीले आफ्नो समूहबाट नआएका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । यसैले, समूह चरणको जितको अंक सुपर-सिक्समा पनि कायम रहने भएकाले आजको जापानविरुद्धको खेल नेपालका लागि निर्णायक बन्न सक्छ ।

भर्खरै युएईको शारजाहमा वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज २-१ ले जितेर इतिहास रचेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । यो छनोटबाट शीर्ष तीन टोलीमा पर्न सके नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० विश्वकपमा छनोट हुनेछ ।

नेपाली टोली: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =