विपिन जोशीको भिडिओ आज सार्वजनिक गरिने, जीवित रहेको विश्वास !

काठमाडौँ । गाजापट्टीमा हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको भिडिओ फुटेज आज सार्वजनिक गरिने भएको छ ।
बन्धक परिवार फोरमले बुधबार विज्ञप्ति जारी गर्दै जोशीको जीवित अवस्थाको संकेत दिने फुटेज आज बेलुका सार्वजनिक गरिने जानकारी दिएको हो ।
फोरमका अनुसार, उक्त भिडिओ इजरायली समय अनुसार बेलुका ७ः५५ बजे र नेपाली समय अनुसार करिब १०ः४० बजे सार्वजनिक गरिनेछ ।
फोरमले सार्वजनिक गर्न लागेको भिडिओ करीब ३० सेकेन्डको हुने बताइएको छ, जुन सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ ।
इजरायली सेनाले यो फुटेज गुप्तचरमार्फत प्राप्त गरी जोशीको परिवारलाई देखाएको थियो ।
टाइम्स अफ इजरायल लगायत इजरायली सञ्चारमाध्यमले बुधबार नै भिडिओबाट लिइएको विपिनको तस्बिर सार्वजनिक गरिसकेका छन् । फोरमले भनेको छ, ‘गाजामा भेटिएको जीवनको संकेतले उनी जीवित रहेको हाम्रो दृढ विश्वासलाई अझ प्रबल बनाएको छ ।’
कञ्चनपुर निवासी विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि सन् २०२३ मा इजरायल गएका थिए । तर अक्टोबर ७, २०२३ मा हमासको इजरायलमाथिको आकस्मिक आक्रमणका बेला उनी अपहरणमा परेका थिए ।
विपिनको रिहाइका लागि उनकी आमा र बहिनी पुष्पा जोशीले इजरायलदेखि अमेरिका हुँदै संयुक्त राष्ट्रसंघसम्म अभियान चलाइरहेका छन् । तेल अविभको होस्टेज स्क्वायरमा भएको कार्यक्रममा विपिनकी बहिनी पुष्पाले भावुक सम्बोधन गरेकी थिइन् ।
यसअघि उनीहरूले इजरायली राष्ट्रपति, संसद् अध्यक्षसँग भेट गरेका थिए भने केही दिनअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए ।








