गृह र ऊर्जा मन्त्रीले इलाम जान पाएनन् टिकट, पहिरो पीडितलाई भेट्ने कार्यक्रम स्थगित

काठमाडौं । इलाममा शनिबार गएको पहिरोको क्षति अवलोकन तथा पीडितहरूसँग भेटघाट गर्न जाने तयारीमा रहेका गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङको सोमबारको भ्रमण स्थगित भएको छ । जहाजको टिकट उपलब्ध नभएपछि भ्रमण स्थगित गरिएको हो ।

शनिबार र आइतबारको अविरल वर्षाका कारण इलाममा ठूलो धनजनको क्षति भएको थियो । पहिरोले बस्तीहरू पुर्दा तीन दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । दुःखद घडीमा पीडितहरूलाई सान्त्वना दिन र अवस्थाको स्थलगत जानकारी लिन मन्त्रीद्वय अर्याल र घिसिङले इलाम भ्रमणको योजना बनाएका थिए । कार्यक्रम अनुसार, उहाँहरू काठमाडौँबाट नियमित उडानको जहाजबाट झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट हेलिकप्टरमार्फत इलाम पुग्ने तालिका थियो ।

तर, अन्तिम समयमा नियमित जहाजको टिकट नपाएपछि भ्रमण स्थगित गर्नुपरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार, ‘आज त्यता जाने भनिएको थियो। तर टिकट नपाएपछि स्थगित भयो । अर्को मिति तय भएको छैन ।’

मन्त्रीद्वयसँगै गृह सचिव, ऊर्जा सचिव र भौतिक सचिव पनि इलाम जाने तयारीमा थिए । मन्त्रालयका अनुसार, राहत सामग्रीसहित छिट्टै इलाम जाने गरी नयाँ कार्यक्रम तय गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =