कोत्रे–मुग्लिन–नारायणगढ सडक खण्डमा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

डुम्रे । पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न ती कार्यालयले संयुक्त रुपमा अनुरोध गरेका हुन् ।
विभागका अनुसार भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमानबमोजिन वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै संयुक्त रुपमा सूचना जारी गरी सार्वजनिक अपिल गरिएको छ ।
भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (आगामी २० गते) सम्म अत्यावश्यकबाहेक यात्रा नगर्नुहुन, यात्रा गर्नुपर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्नेगरी गर्नु हुन तथा रातको समयमा यात्रा नगर्नूहुन अनुरोध गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायबाट आवश्यक जानकारी लिएर मात्र गर्नुहुन अनुरोध गरिएको छ ।
समय सीमाभित्र अत्यावश्यकबाहेक मालवाहक ठूला सवारीसाधन नचलाउन हुन पनि सूचनामा अनुरोध गरिएको छ । पूर्वानुमानबमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भएकाले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रही आवश्यक सहयोग गरिदिनु हुन सम्पूर्ण यात्रु महानुभाव एवं सङ्घ–संस्थामा अपिल गरिएको प्रजिअ अधिकारीले बताए ।
यात्राका क्रममा सडकको अवस्था, जोखिमपूर्ण क्षेत्र वा अन्य जानकारीको लागि निम्न प्रहरी अधिकृतहरूसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ:
शरणकुमार विक, सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय तनहुँ –९८५६०६२२५५
प्रकाश दाहाल, सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय धादिङ – ९८५१२२९८६०
जिल्ला प्रहरी कार्यालय चितवन – सम्बन्धित प्रहरी अधिकारी








