पार्टीभित्र वर्ग दृष्टिकोण कमजोर भएको अध्यक्ष दाहालको स्वीकारोक्ति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा वर्ग दृष्टिकोण कमजोर भएको भन्दै गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
बिहीबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकमा राजनीतिक एवं सांगठनिक प्रस्ताव पेस गर्दै यस्तो धारणा राखेको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।
प्रवक्ता सापकोटाकाअनुसार अध्यक्ष दाहालले केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव समेत राखेका छन् ।
अध्यक्ष दाहालले आफू जीवनभर पार्टी अध्यक्षमा टाँसिरहन नचाहेको उल्लेख गर्दै विधिमार्फत नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना रहेको उल्लेख गरेको सापकोटाको भनाइ छ । उनले पार्टीमा जेनजी पुस्ताको सहभागिता बढाउँदै उनीहरूको माग सम्बोधन गर्नेगरी अगाडि बढ्नुपर्ने प्रस्ताव राखेको पनि बताए ।
उनले भने ‘आन्दोलनमा सहभागी जेनजीहरुसँगको राजनीतिक एवं वैचारिक संवादलाई पनि हामी तीव्र रूपले अगाडि बढाउनेछौँ । जेनजी उमेर समूहका युवाहरूलाई पार्टीमा पनि समेट्ने र उनीहरूका मागका सम्बन्धमा पनि उहाँ (अध्यक्ष पुष्पकलम दाहाल)ले राम्रोसँग उल्लेख गर्नुभएको छ । त्यसैगरी पार्टीमा वर्ग दृष्टिकोण कमजोर भएको, हाम्रो कार्यशैली र आचरणमा समेत केही खराबी देखापरेका छन् । त्यसमा हामीले समीक्षा र आलोचना पनि गर्दै आएका छौँ । अब हामीले एकस्तर माथि उठेर जनताको हृदयमा पुग्नेगरी समीक्षा गर्नुपर्ने प्रस्ताव पनि उहाँले राख्नुभएको छ । अहिले समूहगत छलफल भइरहेको छ । अर्को घोषित मितिमा चुनाव सम्पन्न गराउन पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने र हरहालतमा समयमै निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराउने कुरा उल्लेख गर्नुभएको छ । त्यस्तै महाधिवेशनमा अधिकतम जेन—जी युवाहरूको सहभागिताको लागि वातावरण तयार गर्ने कुरा पनि भएको छ ।’
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने पनि सापकोटाको भनाइ छ । अध्यक्ष दाहालले राखेको राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको पनि सापकोटाको भनाइ छ ।








