रवि लामिछाने पार्टी जिम्मेवारीबाट अलग हुनुपर्छ : रास्वपा सुदूरपश्चिम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि चुलिँदै गएको छ ।

सभापति रवि लामिछानेलाई पार्टी जिम्मेवारीबाट अलग हुन सुदूरपश्चिम प्रदेश समितिले औपचारिक सुझाव दिएको छ ।

६ असोजमा बसेको समितिको बैठकमा आएका धारणा समेटेर केन्द्रमा पठाइएको पत्रमा भनिएको छ, ‘पार्टी सभापति स्वयंले उदारता प्रदान गर्दै न्यायिक निकायबाट न्याय नपाउन्जेलसम्मका लागि पार्टी जिम्मेवारीबाट अलग भई वैकल्पिक धार, समूह र व्यक्तिलाई यो प्लाटफर्ममा अटाउने आह्वान गरी सर्वोच्चता कायम गर्नुपर्छ ।’

समितिले लामिछानेमाथि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र नख्खु कारागारबाट सुरक्षाको कारण देखाउँदै बाहिरिएको विषयलाई लिएर गम्भीर प्रश्न उठाएको छ ।

जेनजी विद्रोहको दोस्रो दिन (भदौ २४) मा कारागारबाट बाहिरिएको घटनाले ४० लाखभन्दा बढी हस्ताक्षरकर्ता समर्थकको भावनामा ठेस पुगेको निष्कर्ष समितिले निकालेको छ ।

पत्रमा रवि लामिछानेलाई निर्देशन दिने सल्लाहकारहरूकै कारण पार्टीले पटक/पटक धोका खेपेको उल्लेख गरिएको छ । नख्खु प्रकरणलाई पछिल्लो हतारको अपरिपक्व निर्णयका रूपमा देखाउँदै यसले पार्टीका अन्य शीर्ष नेतासमेत विवादमा तानिएको समितिको टिप्पणी छ ।

नख्खु कारागार पुगेका उपसभापति डीपी अर्याल, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य गणेश पराजुली, ज्वाला संग्रौलालगायत नेतामाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग समितिले गरेको छ।

पत्रमा पार्टी सचिवालयको पुनर्गठन, प्रदेश समितिलाई स्वायत्तता, तथा व्यक्तिपूजक प्रवृत्तिको अन्त्य गर्नुपर्ने जस्ता ठोस मागहरू उठाइएको छ ।

पूर्व सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामालाई पार्टीका लागि दुःखद क्षण भन्दै त्यो घटना नेतृत्वको कमजोरी बोलेको ठहर गरिएको छ । सुदूरपश्चिम समितिले रास्वपाभित्र केन्द्रीय निरंकुशता हाबी हुँदै गएको र व्यक्तिपूजक प्रवृत्ति बलियो बनेको आरोप लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =