पर्यटन क्षेत्र सुधार्न ‘रिकभरी प्लान’ आवश्यक: टान अध्यक्ष पाण्डे

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले निजी क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताएका छन् ।

केही दिन अगाडि भएको जेन—जी आन्दोलन निजी क्षेत्र लक्षित समेत भएको बताउँदै यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

जेन—जी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरीका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिँदै उनले सरकारले समेत यो क्षेत्रमा ‘रिकभरी प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए ।

नाफिजले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा तीन महिनाका लागि पर्यटकहरूका लागि भिसा फ्री गर्नुपर्नेमा जोड दिए । जेन—जी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पीडा एक खालको भएपनि त्यो भन्दा बढी क्षति नभएमको संरचनाहरू समेत पीडामा रहेको बताए ।

राज्यका संयन्त्रहरूले प्रभावकारी ढंगबाट काम गर्न नसक्दा आर्थिक गतिविधि समेत राम्रोसँग अघि बढ्न नसकेको उनको भनाई छ । राज्यका संयन्त्रमा जबाफदेहिता, उत्तरदायित्व नभएकै कारण समस्या आइरहेको बताउँदै राज्य जबाफदेही नहुँदासम्म सुधार हुन नसक्ने दाबी गरे । सरकारी संयन्त्रहरूमा रहेको भ्रष्टाचार अहिले निजी क्षेत्रमा समेत व्याप्त भइरहेको उनले बताए ।

जेन—जी आन्दोलनको माग नै भ्रष्टाचारको अन्त्य भएको बताउँदै त्यसको अन्त्यका लागि आर्थिक कारोबारमा पारदर्शिता हुनुपर्ने बताउँदै उनले भ्रष्टाचार निकै व्याप्त भएको बताए ।

अध्यक्ष पाण्डेले भने ‘करप्सनका विरुद्धमा भएको जेनजी आन्दोलनमा निजी क्षेत्रको नेक्सस कति छ रु समाजले यो माग गरिरहेको छ । हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ । आन्दोलनको प्याटर्न हेर्दा त्यो आभास पाउँछौँ । नेपालमा जब भएन भन्छौँ, क्वालिटी जब भएन । बीएचएम गरेको भाइ बहिनीलाई १७ हजारमा काममा लगाइरहेका हुन्छौँ । यस्तो अवस्थामा युवाहरू नेपालमा बस्न सक्दैन ।’

उनकाअनुसार अहिलेका बच्चाहरू कुनै सरकारी कार्यालयमा गएर काम गर्नसक्ने अवस्था छैन । बहुदल आएपछि नेपालको पर्यटन क्षेत्र कुपोषण लागेको बच्चा जस्तै भएको उनको भनाई छ । नेपालमा पर्यटन क्षेत्रमा वृद्धि भइरहेको तथ्याङ्क आउने गरेकोप्रति असहमति जनाउँदै निकै सुस्त गतिमा बढिरहेको बताए ।

सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक आएको नेपालमा अहिले ११ लाख ५० हजार मात्रै आएको उनको भनाइ छ । उक्त तथ्यांकका आधारमा प्रत्येक वर्ष २५ हजारले मात्रै वृद्धि भइरहेको र नेपालभन्दा कम पर्यटकीय सम्भावना भएका देशहरूमा समेत नेपालको तुलनामा निकै बढी पर्यटक आउने गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =