टेकेन्द्र कार्की गुप्तचर प्रमुखमा नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

जुम्ला घर भएका कार्की हालसम्म विभागमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको रूपमा कार्यरत थिए ।

उनी २०७५ सालमा गुप्तचर प्रमुख बनेका हुतराज थापाको ब्याचमेटसमेत हुन् । थापा भदौ २८ गते तीन वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गएपछि पद रिक्त भएको थियो ।

२०५३ सालमा अनुसन्धान अधिकृतका रूपमा सेवा प्रवेश गरेका कार्कीले विभागभित्रको लामो अनुभव बटुलेका छन् । गुप्तचर प्रमुखको दौडमा उनले प्रतिस्पर्धी ओम प्रकाश जोशीलाई पछि पार्दै नियुक्ति सुनिश्चित गरेका हुन् ।

जेनजी आन्दोलनपछिको सत्ता परिवर्तनसँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले टेकेन्द्र कार्कीलाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राजनीतिक रूपले संवेदनशील समयलाई ध्यानमा राख्दै अनुभवी र विभागभित्रैबाट आएको नेतृत्व चयन गरिएको बताइएको छ ।

सिंहदरबार परिसरमा रहेको राष्ट्रिय अनुसन्धान विभागको मुख्यालयबाट सञ्चालन हुने यो निकायमा हाल २,२६५ जना कर्मचारी तथा एजेन्ट कार्यरत छन् । उनीहरूको मुख्य जिम्मेवारी राष्ट्रिय सुरक्षासम्बन्धी सूचना संकलन र विश्लेषण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =