आगजनीले खण्डहर प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको फोहोर तत्काल हटाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले जेन जी प्रर्दशनकारीहरुले आगजनीबाट खण्डहर बनेको प्रधानमन्त्री कार्यालयको फोहोर तत्काल हटाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मंगलवार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको क्षतिग्रस्त संरचनाहरूको अवलोकन गर्ने क्रममा उनले मातहतका निकायलाई तत्काल त्यहाँको फोहोर व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहित अवलोकनमा पुगेका मन्त्री घिसिङले फोहोर सफा गर्ने र काम लाग्ने कोठाहरू रङ रोगन गरी सञ्चालनमा ल्याउने व्यवस्था तत्काल मिलाउन पनि सचेत गराए । उनले त्यहाँ जलेर काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनहरू पनि उचित ठाउँमा व्यवस्थापन गर्न ढिलाइ नगर्न भनेका थिए ।

मन्त्री घिसिङले भने ‘यो फोहोर जति सबै सफा गरेर फालिदिऊँ । जहाँ जहाँ काम हुँदैन, त्यहाँ छोपीदिउँ । यिनी रङ रोगन गरेर चलाई दिऊ । यसलाई उठाएर लैजाने काम गरौँ ।’

त्यस क्रममा मन्त्री घिसिङलाई शहरी विकास मन्त्रालयका सचिव सिग्देल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव शर्माले सिंहदरबार भित्रको फोहोर व्यवस्थापनको काम सुरु गरिएको र छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =