संविधान जिवितै राखेर सरकार गठन गरौँ : शिशिर खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा नेता शिशिर खनालले हालको राजनीतिक संकटको समाधान संविधानको दायरा भित्र रहेर खोजिनु पर्ने बताएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले जेन–जी आन्दोलन र त्यसपछिको परिस्थितिलाई सम्बोधन गर्दै भनेका छन्, ‘संविधानलाई जिवित राखेर नयाँ सरकार गठन गरौँ ।’

खनालले केही वर्षअघि श्रीलङ्कामा भएको जनआन्दोलनको उदाहरण दिँदै संविधान नछोइ नयाँ सरकार र नेतृत्व स्थापनाको सम्भावना रहेको उल्लेख गरे ।

‘श्रीलङ्कामा तत्कालीन शासकहरू जनआन्दोलनबाट हट्न बाध्य भए, तर संविधान यथावत् राखेर नयाँ नेतृत्व स्थापित भयो,’ खनालले भनेका छन् ।

उनले संविधानमा आवश्यक परे संशोधन गर्न सकिने उल्लेख गर्दै त्यसको प्रक्रिया लोकतान्त्रिक रूपमा निर्वाचित जनप्रतिनिधिबाट हुनुपर्नेमा जोड दिए ।

‘जन–निर्वाचित संविधान सभाले बनाएको संविधानको संशोधन पनि जनप्रतिनिधिहरूको प्रक्रिया मार्फत मात्र गर्नुपर्छ । लोकतन्त्रले यही स्वीकार गर्छ’ उनले भने ।

खनालले हिंसाबाट प्राप्त शक्ति दीर्घकालीन नहुने दाबी गर्दै सबै पक्षबीच संवाद र सहकार्यको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् । ‘जति नै बलियो देखिए पनि, हिंसाबाट प्राप्त शक्ति लामो समय टिक्दैन,’ उनले भने ।

उनले जेन–जी आन्दोलनमा सहभागी युवाहरुलाई निषेधको राजनीतिमा फस्न नदिन आग्रह गर्दै देशको सामूहिक सुरक्षामा केन्द्रित हुन आग्रह गरेका छन् । ‘पद र शक्ति क्षणिक हुन्छ, तर व्यक्तिगत, सामूहिक र राष्ट्रिय सुरक्षा दीर्घकालीन विषय हो,’ खनालले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =