अब जेनजी पुस्ताले सरकार चलाउँछ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी पुस्ताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै अब बन्ने सरकारले नेपाली जनताका ज्वलन्त मागहरूलाई सम्बोधन गरी पूरा गर्नुपर्नेमा जोड दिएका छन् । २०७९ फागुन १ गते मेचीको बगरबाट राजाको हातबाट दियो बालेर सुरु गरिएको आफ्नो अभियान आंशिक रूपमा भए पनि सफलताको उचाइमा पुगेको बताउँदै उनले शोक र वियोगका पीडाका बीचमा पनि शब्द र सपनाले यथार्थको रूप लिन थालेको उल्लेख गरेका छन् ।

वर्षौंदेखि आफूले उद्घोष गर्दै आएका सत्यहरू आज प्रमाणित भएकामा हर्ष र वियोगका आँसु एकसाथ बगेको प्रसाईंले बताएका छन् । उनका अनुसार, यस अभियानको प्रमुख लक्ष्य भनेको बैंक, सहकारी र लघुवित्तको चर्को चक्रवर्ती ब्याजका कारण घरबारविहीन बनेका लाखौं नेपाली नागरिकलाई आफ्नै घर-जग्गा फिर्ता गराउनु र २० लाखभन्दा मुनिका गरिब नेपालीको ऋण मिनाहा गर्नु हो ।

साथै, सोभन्दा माथिका मध्यम वर्गीय नेपाली व्यापारीलाई २५ वर्षसम्म ५% ब्याजदरमा ऋण तिर्ने व्यवस्था मिलाउनुपर्ने, सहकारी पीडितको डुबेको रकम सरकारले जिम्मा लिएर फिर्ता गरिदिनुपर्ने, विदेशमा रहेका १ करोड ६० लाखभन्दा बढी नेपाली युवालाई स्वदेश फर्केर जीवन पुनर्निर्माण गर्ने वातावरण सिर्जना गर्नुपर्ने तथा ७ हजारभन्दा बढी विदेशी जेलमा रहेका नेपाली युवालाई उद्धार गरी सुरक्षित नेपाल फर्काउनुपर्ने माग पनि प्रसाईंले दोहोर्‍याएका छन् ।

प्रसाईंले नेपाललाई वैदिक सनातन धर्मसहितको धार्मिक स्वतन्त्र हिन्दु अधिराज्यका रूपमा पुनर्स्थापना गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाउने घोषणा गरेका छन् । उनले आफूलाई मन्त्री, प्रधानमन्त्री वा सांसद बन्ने कुनै व्यक्तिगत रहर नभएको स्पष्ट पार्दै ‘हाम्रो चाहना एउटै हो- हामीले उठाएका नेपाली जनताको माग र मुद्दाहरू अब बन्ने सरकारले पूरा गरिदियोस्’ भनेका छन् ।

छोटो समयमै यस आन्दोलनलाई यति ठूलो उचाइमा पुर्‍याउँदै परिवर्तनको ढोका खोल्न सफल भएका जेनजी पुस्ताका भाइबहिनीहरूप्रति उनले उच्च सम्मान र आभार प्रकट गरेका छन् । भगवती माता दुर्गाको चरणमा प्रार्थना गर्दै उनले अब कुनै पनि नेपाली नागरिक, विशेष गरी जेनजी पुस्ताका छोराछोरीहरूले आफ्नो आमाबाबु वा अर्को पुस्ताका लागि जीवन बलिदान दिन नपरोस् भन्ने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =