चन्द्रपुरमा जेनजी आन्दोलन उग्र, नगरपालिकामा आगजनी र तोडफोड

काठमाडौं । जेनजी आन्दोलन देशव्यापी रूपमा फैलिंदै जाँदा रौतहटको चन्द्रपुर नगरपालिकामा हिंसात्मक रूप लिएको छ ।
राज्य दमन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरूले नगरपालिकाको कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूले कार्यालयको सिसा फुटाएका छन्, मुख्य ढोका तोडेका छन् भने पार्किङमा राखिएका ट्र्याक्टर र अन्य सरकारी सवारीसाधनमा आगजनी गरेका छन् ।
घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि तोडफोड रोक्न सक्ने स्थिति तत्काल सिर्जना हुन सकेन । आन्दोलनकारीहरू निकै आक्रोशित अवस्थामा रहेको स्थानीय स्रोतले जनाएका छन् ।
यसैबीच, रौतहटको गौर, गरुडा, कटहरिया र चन्द्रपुरलगायतका क्षेत्रमा पनि जेनजी आन्दोलनका प्रदर्शनहरू बिहानैदेखि जारी छन् । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर विरोध जनाइरहेका छन् ।
उनीहरूले सरकारले गरेको स्वेच्छाचारी निर्णय, नेतृत्वको अराजकता, र व्यापक भ्रष्टाचारविरुद्ध आक्रोश पोख्दै नाराबाजी गरेका छन् ।








