जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो (अपडेट)

काठमाडौं । आज बिहानदेखि जारी जेनजी प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचारका क्रममा १९ जनाको मृत्यु पुष्टि भएको छ ।

स्रोतका अनुसार ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको छ । सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने केएमसी अस्पतालमा २ जनाको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा १ जनाको र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो । यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ ।

प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण धेरै घाइते भएका छन्, तर घाइतेहरूको यकिन संख्या र अवस्था अहिलेसम्म सार्वजनिक भएको छैन । घाइते र मृतकको संख्याबारे एकिन जानकारी आउन बाँकी छ ।

यस्तै, सुनसरीको इटहरीमा पनि प्रहरीले चलाएको गोलीबाट दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

गोली लागेर गम्भीर घाइते भएका दुवै जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा घाइते भएका अर्का एक प्रदर्शनकारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस क्रममा सशस्त्र प्रहरी बलका एक सहायक हवल्दारसमेत घाइते भएका छन् । उनको गालामा चोट लागेको र अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =