सरकारले मिडियाप्रति नकारात्मक दृष्टिकोण राख्यो कि भनेर आशंका गर्नुपर्ने अवस्था छैन : काँग्रेस प्रमुख सचेतक

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मिडियाप्रति नकारात्मक दृष्टिकोण राखेको भनी आशंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

सोमवार नेपाल प्रेस युनियनले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

दक्षिण एसियामै उत्कृष्ट मिडियाको अवस्था मुलुक नेपाल भएको उनको दाबी छ । उनले नेपाली काँग्रेस पार्टी लोकतन्त्र र जनताको अधिकारको लागि लड्ने पार्टी भएकाले उल्लेख गर्दै मिडियामाथि कुनै दुर्भावना नराख्ने समेत स्पष्ट पारे । प्रस्तावित मिडिया काउन्सिल विधेयकमा धेरै विषयहरूमा संशोधन गर्नुपर्ने उनको स्वीकारोक्ति छ ।

मिडिया काउन्सिल गठनको प्रक्रिया परिमार्जन गर्नुपर्ने विज्ञको धारणा स्वागतयोग्य रहेको उनको भनाइ छ ।

उनले भने ‘दक्षिण एसियामा सबैभन्दा राम्रो मिडियाको अवस्था भएको देश नेपाल हो । यसमा नेपाल सरकारको मिडियाप्रतिको दृष्टिकोणमा शंका गरिहाल्नुपर्ने अवस्था पनि मैले देखेको छैन । काँग्रेसको त बेल्कुलै छैन । यो पार्टी त लोकतन्त्र र जनताको लागि लडेको पार्टी हो । सँगसँगै अन्य पार्टीको पनि त्यो मक्सद मैले देखेको छैन । त्यसकारण मक्सदमा शंका नगरिदिने मैले निवेदन गरेँ । यो विधेयकको सन्दर्भमा केही कुराहरू संशोधनयोग्य छन् भन्ने मैले पनि महसुस गरेको छु । यो मिडिया काउन्सिल गठनको क्रममा बन्ने समितिको प्रक्रियामा परिमार्जन गर्नुपर्छ भन्ने विषयमा मेरो पूर्ण रूपमा सहमति छ । र यस विषयमा विशेषज्ञबाट उठेको कुरा पनि मनन्योग्य छ । त्यसलाई पनि परिमार्जन गरेर हामी अगाडि लैजान्छौँ । अन्य नमिलेका कुरा पनि सुधार गर्र्छौं ।’

उनले विधेयकमा नमिलेको कुरालाई सुधार गरेर नेपालको सञ्चार जगतलाई समृद्ध बनाउने कुरामा सबै राजनीतिक दलहरू सकारात्मक रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =