नयाँबानेश्वर पुगे जेन-जी प्रदर्शनकारी

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध युवा पुस्ता (जेनजी) को नेतृत्वमा सुरु भएको सशक्त प्रदर्शन माइतीघरबाट नयाँबानेश्वर पुगेको छ । सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले विभिन्न नाराबाजी गर्दै नयाँबानेश्वरको सडक ढाकेका छन् । प्रदर्शनका कारण त्यस क्षेत्रको सवारी आवागमन नराम्ररी प्रभावित भएको छ ।
प्रदर्शनकारीहरूलाई नयाँबानेश्वरमा प्रहरीले ब्यारिकेड लगाएर रोकेको छ । हातमा ‘भ्रष्टाचार मुर्दावाद’, ‘सामाजिक सञ्जालको प्रतिबन्ध खारेज गर’, ‘सुशासन कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरूले सडकमा उत्रिएर सरकारविरुद्ध चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
भ्रष्टाचार र सरकारी अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा निरन्तर आवाज उठाउँदै आएका युवाहरू सरकारले सामाजिक सञ्जालमै प्रतिबन्ध लगाएपछि सडकमा उत्रिन बाध्य भएका हुन् । यस प्रदर्शनलाई विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवा र स्वतन्त्र व्यक्तिहरूले समेत समर्थन जनाएका छन् ।
जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी नीतिको चर्को विरोध भइरहेका बेला यो प्रदर्शनले सरकारलाई थप दबाब सिर्जना गरेको छ ।








