भन्न त अनेक भन्छन्, हाम्रो कमरेडको घरमा ट्यांकीभरि पैसा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेताहरूमाथि लाग्ने अफवाहदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र वाम एकताको औचित्यमाथि कडा टिप्पणी गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा सम्पन्न दोस्रो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यी विषयमा खुलेर आफ्ना धारणा राखेका हुन् ।

अध्यक्ष ओलीले पार्टी नेताहरूविरुद्ध अनेकौं अफवाह फैलाइने गरेको भन्दै पार्टी पंक्तिलाई सचेत रहन आग्रह गरे । उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमाथि लागेको ‘पानी ट्यांकीमा पैसा लुकाएको’ आरोपलाई उदाहरणका रूपमा प्रस्तुत गरे । ‘भन्न त अनेक भन्छन्। हाम्रो कमरेडको (वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल) घरमा ट्यांकीभरि पैसा छ भनेर हल्ला गरे । हामीलाई गाह्रो भयो कि, मान्छेहरूलाई यी हाम्रो ट्यांकीमा पैसा छैन भन्नुपर्ने स्थिति छ,’ ओलीले भने ।

यसअघि असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा आफूले दिएको अभिव्यक्तिलाई पनि गलत अर्थमा बुझिएको उनले स्पष्ट पारे । उनले मदन भण्डारीमाथि पनि चार वटा बिहे गरेको र सहकारी ठगीको आरोप लाग्ने गरेको भन्दै यस्ता झुटा आरोपबारे सुनाउन खोजेको बताएका थिए । ‘असार १४ गते मैले यस्ता आरोप, झुटा आरोप लाग्छ भन्न खोजेको थिएँ । तर अर्कै बुझियो,’ उनले थपे ।

अध्यक्ष ओलीले बिनात्याग र परिश्रम राजनीतिमा उदाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पनि चर्को आलोचना गरे । उनले रास्वपाको राजनीतिक इतिहासमाथि प्रश्न उठाउँदै भने, ‘के हो रास्वपा ? २००७ सालको क्रान्ति गर्‍यो ? २०३६ सालको क्रान्तिमा थियो ? २०४६ सालमा क्रान्ति गर्‍यो ? २०६२/०६३ मा गर्‍यो ? खाएको त्याग्नेबाहेक के त्यागेको छ ?’

रास्वपाका सांसदहरूले बलात्कारजस्तो जघन्य अपराधलाई सामान्यीकरण गर्ने गरेको प्रसंगसमेत जोड्दै ओलीले रास्वपा सांसद सोबिता गौतमलाई लक्ष्य गरेर टिप्पणी गरे,  ‘एक थप्पड हानेको र बलात्कार गरेको एउटै हो भन्नेका पछाडि लाग्ने ?’

वाम एकताको रटानलाई अनावश्यक र बेमौसमी बताउँदै अध्यक्ष ओलीले यसको कुनै आवश्यकता नरहेको स्पष्ट पारे । उनले पार्टी पंक्तिलाई जनतासँग घुलमिल हुन र आफ्ना कुरा लिएर नागरिककहाँ जान आह्वान ग रे। ‘शक्ति भए पनि विचार मिल्छ ? तीन करोड मानिसलाई सचेत बनाऔं न । हाम्रो कुरा लिएर नागरिककहाँ जाऊँ न । किन गर्ने वाम एकता ? जनतालाई साथी बनाऔं न । बिग्रिएको मन भएकाहरूकोमा नजाऔं । आफ्नै पार्टीमा सिनो भएकाहरूकहाँ नजाऔं,’ ओलीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =