दशरथ रंगशाला सुरक्षित र अन्तर्राष्ट्रिय खेल हुने स्तरको छ : एन्फा

काठमाडौं । पाहुना टोली बंगलादेशसँग नेपालको दुई मैत्रीपूर्ण खेलको नतिजा पनि बराबरी भएमा टाइब्रेकरमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार दशरथ रंगशालमा पत्रकार सम्मेलन गर्दै दुई खेलको नतिजा बराबरी भएमा टाइब्रेकर हुने जनाएको हो ।

सो अवसरमा एन्फाको प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले सम्पूर्ण तयारी पूरा भएको उल्लेख गर्दै दोस्रो खेलको नतिजा पनि बराबरी भएमा टाइब्रेकर हुने जानकारी दिएका हुन् ।

नेपालले फिफा अन्तर्राष्ट्रिय विन्डोमा आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त दुई खेलको विजेतालाई ट्रफी प्रदान गर्ने भएकाले दोस्रो खेलमा पनि बराबरी भएमा एन्फाले टाइब्रेकरमार्पmत विजेता घोषणा गर्ने जनाएको हो । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

जुन रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउन नसक्दा फिफा र एएफसीको आधिकारिक प्रतियोगिताहरू यो मैदानमा लामो समयदेखि हुन सकिरहेको छैन । तर, दुई मैत्रीपूर्ण खेल भने फिफाकै स्विकृतिमा हुन लागेको छ ।

एन्फाको प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले दशरथ रंगशाला धेरै फुटबल मैदान नै रहेको दाबी गर्दै एएफसी कप क्वालिफायर हुनको लागि एएफसीको कम्पिटसन डिपार्टमेन्टले तय गरेको रेगुलेसन पूरा नहुँदा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुन नसकेको बताए । तर अहिले फिफा टाइरको फर्म भरेर नै यी दुई मैत्रीपूर्ण खेल तय भएको मिश्रले उल्लेख गरेका छन् ।

उनले दशरथ रंगशाला असुरक्षित र अन्तर्राष्ट्रिय म्याच नै नहुने खालको नरहेको बताएका छन् र साफको प्रतियोगिता, साफको क्लब च्याम्पियनसिप भएको र क्लब च्याम्पियनसिपको क्वालिफायरका लागि एएफसीले पनि यो रंगशालामा खेल्न दिएको उनले उल्लेख गरेका छन् ।

यसले गर्दा एएफसीकै कतिपय निर्णय नै एकआपसमा बाझिने खालको रहेको उनको भनाइ छ । मिश्रले आवश्यकभन्दा मापदण्ड नेपालसँग मागेको हो कि भन्ने आफूलाई लागेको उल्लेख गरेका छन् ।

यो मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली नेपाल आइसकेको छ । इङ्लिस प्रिमियर लिगको पूर्वक्लब लेस्टर सिटीका स्टार खेलाडी हेम्जा चौधरी, इटालीमा फुटबल खेल्ने फहमिदुल इस्लाम, क्युबा मिचेल र शमित शोमजस्ता स्टार फुटबलर बंगलादेशको २३ सदस्यीय टोलीमा छैन । गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय टोली पनि घोषणा भइसकेको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले मैत्रीपूर्ण खेलको तयारी पूरा भइसकेको जानकारी दिए । उनले टिकट डिजिटल वालेट खल्ती एपमार्फत किन्न सकिने र दर्शकको सहजताका लागि खेल हुने दिन रंगशालाका सम्पूर्ण गेटहरू खुला गरिने जानकारी दिए । साथै टिकटमा उल्लेख गरिएको रङका आधारमा सिटमा बस्नुपर्ने प्रवक्ता शाहले बताएका छन् ।

दशरथ रंगशालाको करिब १५ हजार दर्शक क्षमता हो । तर क्षमताको २५ प्रतिशत एन्फाले खाली राख्ने उल्लेख गरेको छ । सामान्य प्यारापिट ९ हजार र भिआएपी प्यारापिटमा एक हजार टिकट बिक्री गर्ने एन्फाले उल्लेख गरेको छ । खेलका लागि टिकट दर भिआइपी प्यारापिटतर्फ एक हजार र साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ तोकिएको छ । दुवै खेल साँझ ५ः४५ बजे हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 10 =