गोकुल बास्कोटाको आक्रोश: ‘सरकार त उत्तर कोरिया पो बन्ने भएछ’

काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा सत्तारुढ दल नेकपा एमालेकै सांसद गोकुल बास्कोटाले सार्वजनिक रूपमा असहमति जनाएका छन् ।
बास्कोटाले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति असहमति जनाएका हुन् । ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेको थिएँ मैले । तर सरकारले त उत्तर कोरिया पो बनाउने भएछ । बिकृति अन्त गर्न सुचनामा विर्को लगाउने हैन नि’ उनले भनेका छन् ।
सूचना प्रवाहमा प्रतिबन्ध लगाएर सामाजिक विकृति अन्त्य गर्न खोज्नु उपयुक्त उपाय नभएको बताउँदै बास्कोटाले सरकारलाई कानुनी र प्राविधिक उपाय अपनाउन सुझाव दिएका छन् ।
उनले सामाजिक सञ्जालमा बढ्दो दुरुपयोगलाई नियन्त्रण गर्न नियमनको आवश्यकता भए पनि त्यसका लागि सूचनामाथि ‘विर्को’ लगाउने होइन, सुव्यवस्थित नीति र कानुन निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् ।
आज मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, एक्स (ट्विटर), युटुवलगायतका सामाजिक सञ्जाललाई नेपालमा बन्द गर्ने निर्णय गरेको छ ।








