मनसुनको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले नेपालका विभिन्न भूभागमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसको परिणामस्वरूप कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ । आज बिहानैदेखि कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । यसका साथै, तराई भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ। विशेषगरी मधेस प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ ।
आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ । कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ । राति लुम्बिनी प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । नदीतटीय क्षेत्रका बासिन्दा र पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन सुझाइएको छ ।








